१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

पूँजी बजारलाई पारदर्शी र लगानीकर्तामैत्री बनाउने धितोपत्र बोर्डका अध्यक्ष डा. भट्टको प्रतिबद्धता

१८ असार, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको शिष्टाचार भेटका क्रममा शुक्रबार अध्यक्ष डा. भट्टले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। ब्रोकर एसोसिएसनले डा. भट्टलाई उनकै कार्यकक्षमा भेट गरी हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो।

भेटका क्रममा अध्यक्ष डा. भट्टले नेपाल सरकारको बजेट तथा नीति–कार्यक्रमले तय गरेका उद्देश्य र प्राथमिकताअनुरूप पुँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक सबै पहल गर्ने बताए। उनले भने, “पुँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी र लगानीकर्ताबीच आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाइनेछ।”

बजारमा सुशासन कायम गर्ने, लगानीकर्ताको हित संरक्षण गर्ने र आधुनिक प्रविधिको अधिकतम प्रयोगमार्फत नेपालको पुँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने दिशामा बोर्ड सक्रियतापूर्वक अघि बढ्ने उनले विश्वास दिलाए।

सो अवसरमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले नवनियुक्त अध्यक्षलाई सफल कार्यकालको शुभकामना दिँदै बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि र नीतिगत एवं संरचनागत सुधारका लागि एसोसिएसनले सदैव रचनात्मक सुझाव र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटवार्ताका क्रममा नेपाल सरकारको बजेटले पुँजी बजारका लागि तय गरेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा र प्रविधिमैत्री सेवा विस्तारका विषयमा समेत सकारात्मक छलफल भएको थियो।

स्टक ब्रोकर एसोसिएसनले डा. भट्टको नेतृत्वमा धितोपत्र बोर्डले पुँजी बजारको विस्तारमा नयाँ ऊर्जा थप्ने र नेपालको आर्थिक विकासमा बजारको योगदानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ। अध्यक्ष ढकालको नेतृत्वमा गएको टोलीमा एसोसिएसनका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति : July 2, 2026 at 1:46 pm