ककनी उज्यालो बनाउने अभियानमा भाग्यश्री
१६ असार, नुवाकोट । आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा नुवाकोटको ककनीमा राजनीतिक सरगर्मी बढ्न थालेको छ। एमालेले गाउँ केन्द्रीय अभियान सुरू गरेको केही सातामा ‘उज्यालो नेपाल’ पार्टीले संगठन विस्तार र पार्टी प्रवेश अभियानलाई तीव्रता दिएको छ । पुराना पार्टीको बैठक र कार्यक्रममा उपस्थिति न्यून हुँदै गएको अवस्थामा उज्यालो नेपालले भने नयाँ तरंग सिर्जना गर्ने गरी पार्टी प्रवेशको कार्यक्रम अघि बढाएको छ ।
विशेषगरी बागमती प्रदेशलाई केन्द्रमा राखेर चुनावी रणनीति बुन्दै गरेको उज्यालो नेपालले नुवाकोटको ककनीमा आफ्नो बलियो उपस्थिति देखाएको छ । अघिल्लो शुक्रबार ककनीमा आयोजित एक विशेष कार्यक्रमका बीच नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका ५० भन्दा बढी स्थानीय प्रभावशाली नेताहरू उज्यालो नेपालमा प्रवेश गरे । जसमा नेपाली कांग्रेसको पूर्व महाधिवेशन प्रतिनिधि भाग्यश्री लामासहित रहेका छन । नवप्रवेशीहरूलाई पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ र सचिव केदार खड्काले स्वागत गरे ।

पार्टीले आगामी स्थानीय निर्वाचनमा ककनीको कमाण्ड भाग्यश्री लामालाई सुम्पिने समझदारी गरेको छ । बागमती प्रदेश सचिव श्यामराज पाठकले ककनीमा भाग्यश्री लामाकै नेतृत्वमा पार्टी अगाडि बढ्ने र यसका लागि आन्तरिक तयारी भएको जानकारी दिए । पाठकले बागमती प्रदेशका सबै स्थानीय तहमा संगठन विस्तारको अभियान एकसाथ सुरु गरिएको भए पनि अहिले आफू विशेष रूपमा ककनीमै केन्द्रित भएको बताए । उनले ककनीमा एमाले र कांग्रेसका अझै १०० भन्दा बढी स्थानीय नेताहरू उज्यालो नेपाल प्रवेश गर्न तयार रहेको दाबी समेत गरे ।
पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्न तयार भएका भाग्यश्री लामाले ककनीको मुहार फेर्न आफूसँग स्पष्ट भिजन रहेको बताए । उनले अब ककनीको विकास ‘उज्यालो नेपाल’को नीति र योजना अनुसार हुने दाबी गर्दै आफ्ना योजनाहरू अनुमोदनका लागि जनताको बीचमा लैजाने बताए ।

लामाले ककनीको विकासका लागि विशेष ‘मास्टर प्लान’ (गुरुयोजना) तयार पारेको र त्यसैलाई आधार मानेर चुनावी मैदानमा उत्रने तयारी गरेका छन् । ककनीको पर्यटन विकास र विस्तारमा सहजीकरण गरेर स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु आफ्नो मुख्य प्राथमिकता हुने उनले उल्लेख गरे ।
ककनीलाई काठमाडौँ उपत्यकाबाट सबैभन्दा छोटो दूरीको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने लामाको योजना छ । यहाँको प्राकृतिक सुन्दरता र धार्मिक पर्यटनको महत्त्वलाई उजागर गर्दै गुरुयोजनामाथि जनताको बीचमा व्यापक छलफल र बहस चलाइने उनले बताए ।
पछिल्लो समय पुराना र स्थापित दलहरू छाडेर उज्यालो नेपालमा प्रवेश गर्नेहरूको लहरले आगामी निर्वाचनमा ककनीमा उज्यालोसँग अन्यको प्रतिस्पर्धा हुने संकेत देखिएको छ । स्थानीय विकासको एजेन्डा र पर्यटनको ‘मास्टर प्लान’ बोकेर आएका लामाको सक्रियताले ककनीमा नयाँ आशा जगाएको छ ।
उज्यालो नेपाल प्रवेश गर्नेहरूको सार्वजनिक भएको सूची तल प्रस्तुत गरिएको छ ।


प्रकाशित मिति : June 30, 2026 at 9:29 am









