सेयर कारोबारमा १ प्रतिशत अतिरिक्त शुल्कको हल्ला भ्रम मात्रैः हरि ढकाल
१५ असार, काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सेयर बजारमा ‘१ प्रतिशत अतिरिक्त कर’ लगाइएको भन्ने प्रचार भ्रामक भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले दोस्रो बजार (Secondary Market) मा TMS/NEPSE मार्फत हुने नियमित सेयर कारोबारमा कुनै नयाँ १ प्रतिशत कर वा शुल्क नलाग्ने स्पष्ट पारेका हुन्।
ढकालका अनुसार अहिले पनि नियमित कारोबारमा लाग्ने कर भनेको पूँजीगत लाभकर (Capital Gains Tax-CGT) मात्रै हो, जुन दीर्घकालीन लगानीकर्ताका लागि ७.५ प्रतिशत र अल्पकालीन लगानीकर्ताका लागि १० प्रतिशतकै दरमा कायम रहेको छ।

उनले धेरै लगानीकर्ताले १ प्रतिशत शुल्कबारे गलत बुझाइ राखेकाले तथ्य स्पष्ट पार्न आवश्यक भएको बताए। १ प्रतिशत शुल्क दैनिक किनबेच (On-Market Trading) मा होइन, २५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यका निश्चित प्रकृतिका अफ–मार्केट (Off-Market) सेयर हस्तान्तरण मा मात्र लागू हुने ढकालले बताएका छन् । ढकालले पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएको हल्लाका कारण लगानीकर्तामा अनावश्यक अन्योल र डर सिर्जना भएको उल्लेख गर्दै आधिकारिक जानकारीका आधारमा मात्रै निष्कर्ष निकाल्न आग्रह गरेका छन्। उनले संयमित भएर कारोबार गर्न र तथ्यमा विश्वास गर्न अनुराेध गरेका छन् ।
प्रकाशित मिति : June 29, 2026 at 1:21 pm









