एकै निर्वाचनको परिणामले कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न हुँदैनः विद्या भण्डारी
१४ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एउटा निर्वाचनको मतपरिणामकै आधारमा नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताएकी छन् । मदन भण्डारी फाउन्डेसनद्वारा मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले कम्युनिस्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्नुपर्ने आवश्यकतामा जोड दिइन् । ‘निर्वाचनले कम्युनिस्ट दलहरूलाई गम्भीर रूपमा वैचारिक बहस गर्न अपरिहार्य बनाएको छ । एक निर्वाचनको मतपरिणामबाट कम्युनिस्ट आन्दोलनबारे निष्कर्ष निकाल्न हतारो गर्नु हुँदैन,’ उनले भनिन्, ‘तथापि, जनताले व्यक्त गरेका सन्देशहरूलाई स्वीकार गर्नु आजको आवश्यकता हो ।’
उनले बदलिँदो पुस्ताको आकांक्षालाई सम्बोधन गर्न कम्युनिस्ट आन्दोलन समयसापेक्ष परिस्कृत हुनुपर्नेमा जोड दिइन् ।
प्रकाशित मिति : June 28, 2026 at 6:04 pm









