७औँ ओशिनिया नेप्लिज स्पोर्ट्स मिट २०२७ एडिलेडको नारा र मस्कट सार्वजनिक
एडिलेड — अष्ट्रेलिया र ओशिनिया क्षेत्रकै प्रतिष्ठित र ठुलो नेपाली खेलकुद उत्सव ‘७औँ ओशिनिया नेप्लिज स्पोर्ट्स मिट (ONSM) २०२७, एडिलेड ’ २६-२८,मार्च २०२७ मा आयोजना हुने भएको छ। ‘हेरिटेजद्वारा एकजुट, खेलकुदद्वारा प्रेरित’ (United by Heritage, Inspired by Sport) भन्ने मूल नारा र मस्कटका रूपमा ‘कोआला’ चयन भएको ओएनएसएम-२०२७ संयोजक बिजय जोशीले बताउनु भयो ।
नेपाली समुदायको ‘ओलम्पिक’ का रूपमा समेत चिनिने यो प्रतियोगिता सन् २०१३ मा स्थापना भएको हो। यसले खेलकुद, नेपाली संस्कृति, मित्रता र सामुदायिक भावनाको प्रवर्द्धन गर्दै अष्ट्रेलिया र न्यूजील्याण्डमा रहेका नेपाली खेलाडी, परिवार, स्वयंसेवक र समर्थकहरूलाई एउटै थलोमा जोड्ने काम गर्दै आएको छ।
साउथ अष्ट्रेलियाको पहिचान र गौरवका रूपमा रहेको मैत्रीपूर्ण तथा लचिलो जीव ‘कोआला‘ (Koala) लाई ओशिनिया नेपलिज स्पोर्ट्स मिट २०२७ को आधिकारिक मस्कट चयन गरिएको हो। यो मस्कटले एकता, सामूहिक भावना र साउथ अष्ट्रेलियाले पाहुनाहरूलाई गर्ने न्यानो आतिथ्यको प्रतीक झल्काउने एडिलेड नेप्लिज क्रिकेट एशोसिएसनका अध्यक्ष समेत रहेका संयोजक जोशीले बताउनु भयो ।
प्रतियोगितामा अष्ट्रेलियाका विभिन्न राज्यहरू र न्युजिल्याण्डबाट समेत गरी ७०० देखि ८०० सम्म नेपाली खेलाडीहरू सहभागी हुने अनुमान गरिएको छ। खेलाडीका साथमा खेल अधिकारीहरू, स्वयंसेवक, परिवार र ठुलो सङ्ख्यामा खेलप्रेमी समर्थकहरू साउथ अष्ट्रेलिया पुग्नेछन्। यस वृहत् खेलकुद महोत्सवले साउथ अष्ट्रेलियाको पर्यटन, होटल व्यवसाय, स्थानीय व्यापार र सामुदायिक संलग्नतामा दीर्घकालीन र सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
खेलकुद प्रतिस्पर्धा मात्र नभएर ओशिनिया नेप्लिज स्पोर्ट्स मिट २०२७ ले बहुसांस्कृतिक समाजको सम्मान, सामुदायिक सम्बन्धको सुदृढीकरण र आगामी नयाँ पुस्तालाई खेलकुदमा लाग्न प्रेरित गर्ने आयोजकहरुको अपेक्षा रहेको छ । यसैगरी प्रतियोगिताको तयारी तीव्र पारिएको बताउदै आगामी दिनमा टोलीको घोषणा र अन्य महत्त्वपूर्ण विवरणहरू क्रमशः सार्वजनिक गर्दै जाने जनाएका छन् ।
प्रकाशित मिति : June 27, 2026 at 5:21 am









