मेलम्ची खानेपानी आयोजनामा कसैको गिद्दे नजर पर्न दिन्नँ : मन्त्री बिना मगर
१० फागुन, काठमाडौँ । खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा कसैको गिद्दे नजर पर्न नदिने बताएकी छन् । शुक्रबार संसदमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले मेलम्ची खानेपानी आयोजना आफ्नाे सफलतासँग जोडिएको विषय भएकाे र उपत्यकाबासी जनताका लागि मेलम्ची आयाेजना महत्वपूर्ण भएकाेले गिद्धेनजर पर्न नदिने बताइन ।

मन्त्री मगरले मेलम्चीको पानी काठमाडौँ ल्याउन ठेकेदार कम्पनीलाई नै जिम्मा दिने आफ्नो पहिलो प्राथमिकता रहेको र सचिवले त्यसअनुसार काम नगरेकाले सरुवा गरेको समेत बताइन् ।
मन्त्री मगरले सांसदहरुले खानेपानी मन्त्रालयबाट हालै सरुवा गरिएका सचिव गजेन्द्र ठाकुरले मन्त्रीले कमिसन खान खोजेको आरोप लगाएका विषयमा गरिएकाे प्रश्नमा त्यस विषयमा आफूले नभई सम्बन्धित व्यक्तिले नै जवाफ दिनुपर्ने बताइन् ।
सीएमसी आएमा काम छिटो हुने बताउँदै मन्त्री मगरले सीएमसी आएमा नेपाली भेण्डरको समस्या हल गर्न सकिने र रिटेण्डर सिस्टमबाट जान भन्दा छोटो समयमा काम गर्न सकिनेमा जाेड दिइन् । विधिसम्मत ढंगले ठेक्काको मान्यताभित्र रहेर सीएमसी आए सरकारले वेलकम गर्ने समेत मन्त्री मगरले बताइन् ।
प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार १४:२७












