किस्पाङले ल्यायो सामाजिक सुरक्षादेखि उच्च शिक्षा छात्रवृत्तिसम्मका नयाँ कार्यक्रम
१२ असार, नुवाकोट । नुवाकोट, किस्पाङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, उद्यमशीलता र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नयाँ कार्यक्रमसहित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले पहिलोपटक अस्थायी तथा करार शिक्षकलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्ने, विपन्न दलित विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने तथा एचए (HA) र फार्मेसी अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ।
गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपानेले बजेट प्रस्तुत गरेका हुन् । गाउँसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाका अनुसार बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना र सामाजिक संरक्षणका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ।
बजेटअनुसार गाउँपालिकाले अस्थायी तथा करार शिक्षकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गर्ने, विपन्न दलित समुदायका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने तथा एचए र फार्मेसी अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ। यसलाई गाउँपालिकाले जनशक्ति उत्पादन र सामाजिक सुरक्षाको क्षेत्रमा नयाँ पहलका रूपमा अघि सारेको जनाएको छ।
बजेटमा स्वास्थ्य चौकीबाट एमबीबीएस चिकित्सक सेवा सञ्चालन, ज्येष्ठ नागरिकको घरदैलो स्वास्थ्य परीक्षण, पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) स्क्रिनिङ, टिकाको जीव निःशुल्क ढुवानी तथा परीक्षण सेवा, परिवार स्वास्थ्य प्रोफाइल निर्माण र विपन्न तथा अति असक्त नागरिकका लागि आकस्मिक उपचार सहयोगसमेत समावेश गरिएको छ।
शिक्षातर्फ किस्पाङ बहुप्राविधिक शिक्षालयको व्यवस्थापन, बस खरिद, बहुभाषा बहुसंस्कृति कक्षा सञ्चालन, ‘रुम टु रिड’सँगको सहकार्यमा पठन–सीप विकास, विद्यालयमा अध्यक्ष कप फुटबल प्रतियोगिता तथा प्रतिभा खोजी कार्यक्रम सञ्चालन गरिने भएको छ।

कृषि तथा पशुपालन क्षेत्रमा किस्पाङ कृषि रूपान्तरण कार्यक्रम, जैविक मल कारखाना स्थापना, माटो परीक्षण, किसान सूचीकरण, कृषि तथा पशुपन्छी क्षेत्रको डिजिटलाइजेसन, उत्पादनमा आधारित दूध बिक्री अनुदानको निरन्तरता, युवालाई लक्षित कृषि स्टार्टअप कार्यक्रम तथा कृषिमा उद्यम विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
युवालाई उद्यमशीलतामा आकर्षित गर्न स्टार्टअप सिड ग्रान्टअन्तर्गत ५० प्रतिशत अनुदान, नयाँ लघु उद्यम सिर्जना, पुराना उद्यमीलाई प्रविधि हस्तान्तरण, वैदेशिक रोजगारीबाट फर्किएकालाई सहुलियतपूर्ण कर्जा ब्याज अनुदान तथा स्टार्टअप प्रवर्द्धनका कार्यक्रम पनि बजेटमा समेटिएका छन्।
पूर्वाधारतर्फ गाउँपालिकास्तरीय सभाहल, बहुउद्देश्यीय भवन, वडा कार्यालयको डकुमेन्टेसन, पूर्वाधार शाखा स्थापना, परियोजना ट्र्याकिङ तथा डिजिटल सूचना पाटी, सार्वजनिक स्थानमा सीसीटीभी जडान र गाउँपालिकाको डिजिटल प्रोफाइल निर्माण गर्ने योजना अघि सारिएको छ।
वातावरण तथा विपद् व्यवस्थापनअन्तर्गत स्थानीय जलवायु अनुकूलन योजना, वन डढेलो नियन्त्रण तथा सचेतना, वातावरण तथा विपद् सूचना प्रणाली सञ्चालन र किस्पाङ पर्यटन प्रवर्द्धन कार्यक्रम पनि बजेटमा समावेश छन्।
यसैगरी, गाउँपालिकाले एक स्वास्थ्य कार्यक्रम, गृहिणी महिलाका लागि लागत साझेदारी, फिर्के बहुउद्देश्यीय व्यायाम सञ्चालन, कर्मचारी कल्याणकारी कोष स्थापना, मनकामना वडा आइड कार्यक्रम, खानेपानीको गुणस्तर परीक्षण तथा सामुदायिक साझेदारीका विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ।
गाउँपालिकाले सार्वजनिक गरेको बजेटले सामाजिक सुरक्षा, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, कृषि आधुनिकीकरण र स्थानीय उद्यम विकासलाई केन्द्रमा राखेर समग्र विकासको आधार तयार गर्ने लक्ष्य लिएको जनाएको छ।
प्रकाशित मिति : June 26, 2026 at 9:09 am









