सरकारको आश्वासनपछि चिया उद्योगको आन्दोलन स्थगित, आजदेखि उद्योगहरू खुले
११ असार, काठमाडौं । नेपाल चिया उत्पादक सङ्घले बन्द रहेका चिया उद्योग आजदेखि पुनःसञ्चालन गर्ने तथा बन्दका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । भारततर्फ चिया निर्यातमा देखिएको समस्याका कारण बन्द गरिएका झापा र इलामका चिया उद्योग आजदेखि पुनःसञ्चालनमा ल्याइने भएका हुन् ।
नेपाल चिया उत्पादक सङ्घले आज जारी गरेको विज्ञप्तिमा सरकारबाट चिया क्षेत्रका समस्यालाई समाधान गर्ने आश्वासन प्राप्त भएपछि उद्योग पुनःसञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।
“चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न, किसानले भोग्दै आएका समस्या पहिचान र नेपाली चियाको अन्तरराष्ट्रिय बजार प्रवद्र्धन गर्ने दीर्घकालीन जिम्मेवारीसहित सरकारले विशेष कार्यदल गठन गरेको कार्यदललाई सङ्घले सकारात्मक रुपमा लिएको छ”, विज्ञप्तिमा उल्लेख छ, “अतःसरकारको सकारात्मक पहललाई सम्मान गर्ने र चिया क्षेत्र खुला गर्ने निर्णय गरिएको छ ।”

भारतीय चिया बोर्डले लागू गरेको नयाँ एसओपीका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगीहरूले उद्योग बन्द गरेका थिए । यही असार ८ गते सरकारले चिया निर्यातमा देखिएको समस्या अध्ययन गरी समाधानका उपाय सुझाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सङ्घले कार्यदल गठन तथा सरकारको पहललाई सकारात्मक रूपमा लिँदै किसान र मजदुरको हितलाई ध्यानमा राखेर उद्योग सञ्चालनमा ल्याउने निर्णय गरिएको जनाएको छ ।
प्रकाशित मिति : June 25, 2026 at 6:14 pm









