११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

कक्षा १२ को नतिजाबारे छानबिन गर्न समिति गठन

११ असार, काठमाडौं । सरकारले कक्षा १२ को नतिजाका विषयमा विद्यार्थीले उठाएको आवाज सम्बोधन गर्न समिति गठन गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ का विद्यार्थीको उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षांक तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको जानकारी दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको मन्त्री पोखरेलले बताए।

उनले नतिजा प्रकाशन गर्न हतार नगरिएको बताएका छन् । उनले भनेका छन्, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो ।’

dainiki.com

उनले आन्दोलनरत विद्यार्थीप्रति अपमानजनक टिप्पणी नगर्न पनि आग्रह गरेका छन्। ‘विद्यार्थीप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले मेरो ध्यानाकर्षण भएको छ। शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु,’ पोखरेलले भनेका छन्।

प्रकाशित मिति : June 25, 2026 at 4:38 pm