आज प्रतिनिधिसभा बैठक बस्दै, खानेपानी मन्त्री विना मगरसँग प्रश्नोत्तर हुने
१० फागुन, काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । सांसदहरुको प्रश्नको जवाफ दिन खानेपानी तथा सरसफाइ मन्त्री विना मगर आज संसद्मा प्रस्तुत हुँदैछिन् । मन्त्रालयसँग सम्बन्धित कामबारे सांसदहरुमा उत्पन्न प्रश्नको जवाफ दिन संसदले सुरु गरेको प्रश्नोत्तर सत्रमा मन्त्री मगर उपस्थित हुन लागेकी हुन् ।

दिउँसो १ बजे बस्ने बैठकमा मन्त्री मगरले सम्हालेको मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्ले प्रश्न राख्ने र मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा संसद्मा पेश गरिएको सूचना प्रविधि विधेयकबारे विचार गरियोस् भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राख्ने संसद् सचिवालयले जनाएकाे छ ।
प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार ०९:४३












