३१ असार २०८३, बुधबार | Thu Jul 16 2026

एडिलेडमा नवआगन्तुक विद्यार्थी र स्वयंसेवक गरि २१ जनाले लिए ‘फर्स्ट एड’ तथा ‘सीपीआर’ तालिम

एडिलेड (अष्ट्रेलिया) — साउथ अष्ट्रेलियाको एडिलेडमा नवआगन्तुक नेपाली विद्यार्थी तथा सामुदायिक स्वयंसेवकहरूका लागि आयोजना गरिएको निःशुल्क ‘फर्स्ट एड’ (प्राथमिक उपचार) तथा ‘सीपीआर’ (CPR) तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) साउथ अष्ट्रेलियाको आयोजनामा भएको तालिममा २१ जना नवआगन्तुक विद्यार्थी तथा समुदायमा सक्रिय स्वयंसेवकहरूको सहभागिता रहेको थियो।

स्थानिय म्यारियन रोड स्थित अचिभर्स कलेजमा भएको तालिममा आपतकालीन अवस्थामा कसरी तत्काल प्राथमिक उपचार गर्ने तथा बिरामीको श्वासप्रश्वास एवं मुटुको धड्कन बन्द हुँदा सीपीआरमार्फत कसरी जीवन बचाउन सकिन्छ भन्ने विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। कलेजका प्रशिक्षक कृष्ण गौतमले सहभागीहरूलाई प्रत्यक्ष मार्गदर्शन गराउँदै अभ्याससमेत गराउनुभएको थियो।

अचिभर्स कलेजको सहयोगमा आयोजित तालिमको औचित्य दर्शाउदै एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थिर गुरुङले दैनिक जिवन र विभिन्न जागिरहरुमा समेत अत्यावश्यक प्राथमिक  उपचार र सिपिआर सम्बन्धी शिक्षा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

एनआरएनए साउथ अष्ट्रेलियाका युवा संयोजक संगम पाण्डेले तालिम संचालन गर्न सहयोग गर्नु हुने एचिभर्स कलेज, सहभागी र सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्नु भएको छ ।

एचिभर्स कलेजको सहयोगमा नि शुल्क संचालित तालिम गर्न एडिलेडमा प्रति विद्यार्थी $१५० वरिपरि पर्ने बताउदै यसले खास गरि नव आगन्तुक विद्यार्थीहरुका लागि सानै भए पनि सहयोग पुग्ने विश्वास लिएको एनआरएनए साउथ अष्ट्रेलिया कोषाध्यक्ष बसन्त सापकोटाले बताए ।

तालिमको समापन पछि एनआरएन साउथ अष्ट्रेलियाको तर्फबाट संयोजक गुरुङ र उपाध्यक्ष गणेश पराजुलीले एचिभर्स कलेजलाई धन्यवाद सहित प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

तालिममा सहभागीहरूले प्राप्त ज्ञान र व्यवहारिक अभ्यासले आफूहरूलाई आपतकालीन परिस्थितिमा आत्मविश्वासका साथ उद्धारमा खटिन सक्षम बनाएको प्रतिक्रिया दिएका थिए।

नेपाली समुदायको क्षमता विकास, सुरक्षा सचेतना र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमहरू सञ्चालन गरिने एनआरएनए साउथ अष्ट्रेलियाका सचिव युवराज पहाडीले बताउनु भयो ।  

प्रकाशित मिति : June 21, 2026 at 5:21 pm