७ असार २०८३, आइतबार | Sun Jun 21 2026

रास्वपालाई लिङ्देनले भनेः यस्तो अवसर कहिल्यै आउँदैन, चुकियो भने देशलाई धोका हुन्छ

७ असार, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले अहिले पाएको अवसर अब कहिल्यै नआउने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा सुरू भएको पहिलो अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष लिङ्देनले प्रजातन्त्र स्थापनापछि देशमा राजनीतिक दलहरूले ‘लुटतन्त्र’ मच्चाएको आरोप लगाउँदै त्यसमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । ‘हामी कुनै समय फरक–फरक कित्तामा रहेर पनि एउटै कुरा गरिरहेका थियौँ,’ उनले भने, ‘फागुन २१ गतेको निर्वाचनबाट जनताले परिवर्तनका लागि स्पष्ट जनमत दिएका छन् र त्यो जिम्मा रवि लामिछाने र बालेन्द्र शाहको काँधमा आएको छ।’

dainiki.com

उनले यस्तो अवसर पार्टी र व्यक्तिको जीवनमा कहिल्यै नआउने बताउँदै यसलाई चुकाएमा त्यसको क्षति देशले भोग्नुपर्ने चेतावनी दिए । ‘यो अवसर चुकाउनुभयो भने धोका व्यक्ति वा पार्टीलाई मात्र होइन, समग्र देशलाई हुनेछ। मलाई विश्वास छ, तपाईंहरूले यो जिम्मेवारी पूरा गर्नुहुनेछ,’ लिङ्देनले भने ।

उनले रास्वपाको भोटमा राजा चाहिन्छ भन्नेहरूको पनि मत भएको बताएका हुन्। लिङदेनले भने ,‘राजा चाहिन्छ भन्नेहरुको भोट पनि तपाईंहरुलाई छ । राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हुँदाहुँदै बालेनले राजा ल्याउँछ भनेर तपाईंहरुलाई भोट दिएका छन् । तपाईँहरुकाे विशिष्ट जिम्मेवारी छ । जनताको यो विशिष्ट चाहनालाई सम्वोधन गर्नुपर्ने छ ।’

प्रकाशित मिति : June 21, 2026 at 5:12 pm