पोखराले ल्यायो ७ अर्ब १५ करोड २५ लाखको बजेट
५ असार, पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार उपमेयर मञ्जुदेवी गुरुङले १९औं नगर सभामा बजेट सार्वजनिक गरेकी हुन् ।
विनियोजित बजेटमध्ये करिब ४५ प्रतिशत चालू र ५५ प्रतिशत पुँजीगत शीर्षकमा छुट्याइएको छ । पूरा बजेटमध्ये संघ सरकारले सशर्त अनुदानमा २ अर्ब ६१ करोड, विशेष अनुदान ५ करोड ५० लाख, समपुरकमा १ करोड ८२ लाख र समानीकरण अनुदानबाट ४९ करोड ३७ लाख प्राप्त गर्ने अनुमान छ । यस्तै, वित्तीय हस्तान्तरणको ३ अर्ब १८ करोड बजेट पोखराले प्राप्त गर्ने छ ।

प्रदेश सरकारबाट समपुरकमा ६० लाख, विशेषमा ४० लाख, समानीकरणमा ८ करोड १५ लाख र वित्तीय हस्तान्तरण शीर्षकमा ९ करोड १५ लाख प्राप्त गर्ने महानगरको अनुमान छ ।
यसबाहेक संघ सरकारबाट राजस्व बाँडफाँटमा ३४ करोड ३४ लाख र प्रदेशबाट ४ करोड ९ लाख पाउने प्रक्षेपण गरिएको छ । स्थानीय सरकार तर्फको राजस्व बाँडफाँटमा १ अर्ब ३१ लाख र आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख उठाउने अनुमान गरिएको छ ।
प्रकाशित मिति : June 19, 2026 at 5:25 pm









