५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

लघुवित्तमा राष्ट्र बैंकको कडाईः उच्च पदस्थ र ठूला सेयरधनीले ‘स्वघोषणा’ गर्नुपर्ने, अन्य के छ ब्यवस्था ?

५ असार, काठमाडाैं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको संस्थागत सुशासन र पारदर्शितालाई थप मजबुत बनाउन नयाँ व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र ठूला सेयरधनीहरूको विवरणमा कडा निगरानी राख्ने भएको हो ।

सम्बन्धित संस्थाले नियुक्ति वा मनोनयनका क्रममा ती व्यक्तिहरूबाट प्रचलित कानून पालनाको स्वघोषणा, पारिवारिक पृष्ठभूमि, र स्वदेश वा विदेशमा कुनै आपराधिक संलग्नता भए/नभएको स्पष्ट विवरण संकलन गरी नेपाल राष्ट्र बैंकमा बुझाउनुपर्नेछ। साथै, उनीहरू कुनै पनि मुद्दा-मामिला, अनुसन्धान, प्रशासनिक कारबाही वा विवाद समाधान प्रक्रियामा संलग्न भए त्यसको पूर्ण विवरण र अदालतको फैसला बमोजिम तिर्नुपर्ने सरकारी बाँकी बक्यौता वा राजस्व दायित्व भए/नभएको विषयमा समेत अनिवार्य रूपमा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ। नयाँ व्यवस्थाले कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकृतिका सूचीमा नाम परे/नपरेको विवरण तथा स्वार्थको द्वन्द्वको सम्भावना भए/नभएको स्पष्ट जानकारी दिनुपर्ने व्यवस्था गरेको छ। जसले संस्थागत निर्णय प्रक्रियामा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

dainiki.com

नेपाली नागरिकको हकमा विदेशमा कुनै सम्पत्ति रहेको वा त्यसमा वास्तविक धनी वा हिताधिकारी भएको विवरणका साथै विगतको कार्य अनुभव, जिम्मेवारी, पुरस्कार, सजाय र कार्यसम्पादनका उपलब्धिहरू समेत विस्तृत रूपमा पेश गर्नुपर्नेछ। वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरणलाई पनि अनिवार्य सूचनाको सूचीमा समावेश गरिएको छ। जसले उच्च व्यवस्थापनको आर्थिक विश्वसनीयता मूल्यांकन गर्ने आधार तयार गर्नेछ। नेपाल राष्ट्र बैंकका अनुसार यो निर्देशन जारी हुँदा कार्यरत रहेका सबै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन तहका पदाधिकारीले समेत यस्तो विवरण बुझाउनुपर्नेछ भने विवरणमा कुनै परिवर्तन आएमा तत्काल अद्यावधिक गर्नुपर्नेछ। साथै, संस्थापक सेयर खरिद वा नामसारी व्यवस्थामा पनि कडाइ गर्दै अब एक वा पटक–पटक गरी चुक्ता पूँजीको कुल पाँच प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गर्दा वास्तविक धनी वा हिताधिकारी व्यक्तिको विस्तृत विवरण अनिवार्य गरिएको छ।

प्रकाशित मिति : June 19, 2026 at 2:38 pm