ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले संसदमा दिए यस्तो प्रष्टीकरण
४ असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विवादित अभिव्यक्तिबारे जवाफ दिएका छन्। प्रतिनिधिसभामा बैठकमा विनियोजन विधेयक अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको विनियोजनमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा बोल्दै उनले ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू ’ भनी दिएको धम्की र प्रहरी लगाएर मन्त्रालयमा उठाएर ल्याएको विषयमा स्पष्टीकरण दिएका छन् ।
केही दिनअघि पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्ड अनुगमनका क्रममा बिजुलीको पोल नसार्ने ठेकेदारको ‘खुट्टा भाँचिदिन’ कर्मचारीलाई आदेश दिएपछि मन्त्री लम्साल विवादमा तानिएका थिए । त्यसअघि उनले केही ठेकेदारलाई प्रहरी लगाएर मन्त्रालयमा उपस्थित गराएका थिए।

बिहीबार मन्त्रालयगत बजेट छलफलका क्रममा प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऐन महरले यसबारे प्रश्न उठाएका थिए । महरले मन्त्रीको आदेश कानुनसम्मत थियो कि थिएन र दाहिने वा देब्रे कुन खुट्टा भाँच्ने हो भनी प्रश्न गरेका थिए ।
जवाफका क्रममा मन्त्री लम्सालले ठेकेदारलाई थर्काएको नभई बचाउन खोजेको बताए। ‘ठेकेदार थर्काएको भन्ने कुरामा मेरो इन्टेन्सन त्यो होइन । काम नगरे ठेक्का रद्द हुन्छ, बैंक ग्यारेन्टी जफत हुन्छ र उनीहरूको सात पुस्ते सम्पत्तिबाट असुल उपर गर्दा उनीहरू नै सकिन्छन्,’ लम्सालले भने, ‘उनीहरूलाई बचाउनका लागि नै बढी दबाब दिएर काम गराउन खोजेको हुँ ।’
प्रकाशित मिति : June 18, 2026 at 4:44 pm









