निर्धक्क भए हुन्छ, ठूला आयोजनाको बजेट अभाव हुँदैनः मन्त्री लम्साल
४ असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ठूला आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विनियोजन शीर्षक माथिको छलफलमा पूर्वाधार विकास मन्त्रालयसम्बन्धी उठेका प्रश्नको जवाफ दिँदै उनले राजमार्गसहितका ठुला आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताएका हुन् ।
‘सबै धेरैजसो हाईवेहरू बहुवर्षीय नै हुन्छ । त्यसमा कमै पैसा देखिएपनि त्यो निर्माण सम्पन्न हुनका लगि जति पैसा चाहिने हो, त्यो पैसा छ । त्यसमा निर्धकक्क हुनुहोला,’ उनले भने । त्यसअवसरमा उनले बहुवर्षीय आयोजनाहरूका लागि बजेटको अभाव नहुने कुरामा निर्धक्क हुन पनि सांसदहरूलाई आश्वस्त बनाए ।
मन्त्री लम्सालले अर्थ मन्त्रालयमा अबण्डामा पनि बजेट रहेकाले आयोजनाहरूको लागि बजेटको अभाव नहुने पनि बताए । ‘ठूल्ठूला योजनाहरूलाई पनि थोरैथोरै बजेट भन्ने गुनासो छ । राजमार्ग भनेको छ । बजेट एक अर्व हालेको छ । त्यस्तो होइन । टेण्डर जान्छ । काम मोबिलाइजेशन हुन्छ । काम गर्नु हुन्छ उहाँहरूले,’ उनले भने, ‘एक अर्ब बजेट छ भन्दैमा एक अर्बको मात्रै टेन्डर खुल्ने होइन । बहुवर्षीय टेण्डर हुन्छ । जति पैसा लाग्छ, त्यो योजनालाई । त्यति पैसाको टेन्डर खुल्ने हो । त्यति पैसा बजेट कितावमा नदेखिएर हजुरहरूले त्यो प्रश्न गर्नु भएको हो ।’

उनले पहिलो वर्ष एक हजार र तीन वर्षभित्र तीन हजार पुलहरुको निर्माण गर्ने गरी कार्ययोजना बनाइएको बताए । स्थानीय पूर्वाधार विकास विभागमार्फत पुल निर्माणको काम अघि बढाइने उनले बताए ।
यसवर्ष एक हजार पुल निर्माण गरिने र बाँकी दुई हजार पुलको भेरिफिकेसन नभएकाले अर्को वर्षदेखि निर्माण अघि बढाउने गरी बजेटको व्यवस्था गरिएको उनले बताए । तीन वर्षमा तीन हजार पुल निर्माण गर्न ८१ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको मन्त्री लम्सालले बताए ।
प्रकाशित मिति : June 18, 2026 at 3:24 pm









