देशसँग पिरती बस्यो, अनि जोगी भएँः महावीर पुन
४ असार, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँग पीरती लगाउँदा आफू मन्त्री बन्न पुगेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्ना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा उनले उक्त टिप्पणी गरेका हुन्।
सुरुमा गाउँसँग भएको पिरती जिल्ला हुँदै देशसँग परिणत भएर आफू सांसद, मन्त्री भएको मन्त्री पुनको भनाइ थियो । ‘सुरुमा एकैचोटी देशसँग बसेको होइन । त्यो चाहीँ गाउँसँग बस्यो । म अमेरिकाबाट यसो घुम्न आएको मान्छे त्यहाँ गाउँसँग पिरती बस्यो । गाउँबाट जिल्ला, जिल्लाबाट अरु जिल्ला हुँदै देशसँग पिरती बस्यो । त्यसैले अहिले जोगी भएँ ।’ पुनले भनेका छन् ।

उनले आफू मन्त्री भएपछि जोगी भएको अनुभूति भएको पनि बताए । ‘एउटा गीत छ– मत यस्तो होइन दाई, पिरतीले जोगि बनायो । यो पहिलापहिलातिरको समयमा यो गीत गाइन्थ्यो। अव म पनि त्यस्तो सांसद हुने, मन्त्री हुने मान्छे त होइन, तर पिरतीले मलाई सांसद र मन्त्री बनायो,’ उनले भने, ‘एउटा लामो कहानी छ । पिरती मेरो कसरी कोसँग बसेर म जोगी भएँ ? भन्ने कुरा आयो क्या । र, मन्त्री भए भन्ने कुरा आयो । मेरो पिरती खासमा देशसँग बसेको हो ।’
प्रकाशित मिति : June 18, 2026 at 1:38 pm









