अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको भन्दै कांग्रेसले उठायो प्रश्न
४ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थुनिएको भन्दै नेपाली कांग्रेसले प्रश्न उठाएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले यस्तो गम्भीर आरोप लगाएका हुन् ।

सांसद केरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र अन्य पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयभित्रै थुनेर पक्राउ पुर्जी जारी गर्न बाध्य पारिएको दाबी गरे । ‘संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानमन्त्री कार्यालयको कोठाभित्रै थुन्ने र धम्कीका साथ पक्राउ पुर्जी जारी गर्न लगाइएको विषय बाहिर आएको छ,’ केरुङले भने, ‘यदि यो साँचो हो भने यो लोकतन्त्र र सुशासनको नाममा लज्जास्पद हर्कत हो।’
यो विषय साचो हो भने संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनको माग छ । यो विषयमा प्रधानमन्त्री बालेन स्वयमले संसद्लाई जानकारी गराउनुपर्ने र यस निम्ति सभामुखले रुलिङ गर्नुपर्ने उनले बताए ।
प्रकाशित मिति : June 18, 2026 at 11:47 am









