५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या समाधानमा छैनः निश्कल राई

३ असार, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया किसानहरूको समस्या समाधान गर्न प्रधानमन्त्री बालेन शाहले ध्यान नदिएको बताएका छन्। भारतले चिया निर्यातमा समस्या उत्पन्न गरेकोले इलामका चिया उद्योगी र किसानले उद्योगमा ३ दिनदेखि ताला लगाएको उनको भनाइ छ।

प्रतिनिधिसभाको आकस्मिक समयमा सचेतक राईले प्रधानमन्त्री बालेन्द्र शाहप्रति कटाक्ष गर्दै भनेः ‘यति संवेदनशिल विषयमा सरकारको ध्यान पटक्कै पुगेको छैन। हुनतः प्रधानमन्त्रीज्यू अन्य दुई मन्त्रीज्यूहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। उहाँ चिया पसलमा गएर चिया पिउन भ्याउनु हुन्छ तर वार्षिक ३ करोडभन्दा बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरूदण्डकै रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँलाई फुर्सद भएको देखिएन।’

dainiki.com

उनले भारतीय चिया बोर्डले चियामा नयाँ मापदण्ड लगाएको पनि बताए। परिक्षण रिपोर्ट आउन दुई साताभन्दा बढी लाग्ने र त्यो बेलासम्म चिया नष्ट गर्नुपर्ने बाध्यता आइपर्ने उनको भनाइ छ। ‘जसका कारण सूर्योदय नगरपालिकाभित्र मात्र ५३ बढी र जिल्लाभर ८३ बढी चिया उद्योग बन्द गरिएको छ,’ उनले भने।

उद्योग बन्द हुँदा किसानले टिपेको हरियो चियापत्ती खेर गइरहेको, मजदुरको रोजगारी गुमेको र उद्यमीहरूले बैंकको ब्याज समेत तिर्न नसक्ने अवस्था सृजना भएको राईले बताए ।

प्रकाशित मिति : June 17, 2026 at 12:58 pm