मधेस प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
१ असार, काठमाडाैं । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ। मधेसले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो बजेट करिब ६ अर्ब रुपैयाँले कम हो।
प्रदेश सभाको बैठकमा सोमबार आर्थिक मामिला मन्त्री युवराज भट्टराईले बजेट पेस गर्दै विकास निर्माणका लागि २६ अर्ब ४७ करोड रुपैयाँ ६४.३६ प्रतिशत र प्रशासनिक तथा चालु खर्चतर्फ १४ अर्ब ६६ करोड रुपैयाँ ३५.९४ प्रतिशत बजेट विनियोजन गरेको बताए ।

यो बजेट व्यवस्थापनका लागि सरकारले विभिन्न चार वटा मुख्य स्रोतहरू पहिचान गरेको छ। जसअनुसार राजस्व बाँडफाँटतर्फ १२ अर्ब ८३ करोड रुपैयाँ, आन्तरिक स्रोत राजस्व ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदान ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ र गत वर्षको बचत (नगद मौज्दात) ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ रहेको छ।
यसैगरी, सरकारी सेवामा कार्यरत कर्मचारीहरूलाई उत्साहित बनाउन सरकारले तलबमा १० प्रतिशत वृद्धि गरेको छ। यसका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई थप १० प्रतिशत प्रोत्साहन भत्ता समेत उपलब्ध गराइने बजेटमा उल्लेख छ।
प्रकाशित मिति : June 15, 2026 at 4:06 pm









