सरकारसँग क लाख ६८ हजार मेट्रिक टन मल मौज्दात छः मन्त्री चौधरी
२८ जेठ, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल ६ लाख मेट्रिकटनको हाराहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराइने बताएकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा ‘कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्न उत्तर’ कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले सरकारले लागत सहभागिताको आधारमा कृषकलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको र चालु आवमा हालसम्म पाँच लाख ५८ हजार ५२२ मेट्रिकटन मल आपूर्ति भइसकेको जानकारी दिइन् ।
मन्त्री चौधरीले चार लाख ६८ हजार १६ मेट्रिकटन मल किसानलार्ई बिक्री÷वितरण गरिसकिएको बताइन् । हाल एक लाख ६८ हजार ८०२ मेट्रिकटन मल मौज्दात रहेको उनले बताइन् । मन्त्री चौधरीले भनिन्, “धान रोपाइँको याममा मल अभाव नहोस भनेर मन्त्रालयले विभिन्न प्रयास तथा तयारी गरिरहेको छ, यस क्रममा मल आपूर्तिको सम्झौता गरिसकेका आपूर्तिकर्तालाई समयमा नै मल आपूर्ति गर्नका लागि ताकेता गरेका छौँ ।”

मलको सन्तुलित प्रयोग र प्राङ्गारिक तथा जैविक मलको प्रयोगलाई जोड दिन जानकारी मूलक सूचना सन्देश देशभरि प्रवाह गरिएको मन्त्री चौधरीको भनाइ थियो । सबै किसानले बिना भेद्भाव र सजिकै मल पाउने सुनिश्चित गर्न एवं अनुदानको मलमा हुन सक्ने अपचलन रोक्न, मल वितरण कार्य सहज पादरदर्शी र व्यवस्थित बनाउन अनुदानको मल वितरण कार्य व्यवस्थापन निर्देशिका २०८२ को प्रभावकारी कार्यान्वयन गर्न प्रदेश र स्थानीय तह र देशभरका जिल्ल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिएको उनले सदनलाई जानकारी गराइन् ।
प्रकाशित मिति : June 11, 2026 at 5:18 pm







