स्वर्णिमलाई अमरेशको कटाक्षः बजेट फुलेको बेलुन हो, कार्यान्वयन हुँदैन
२८ जेठ, काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभामा बिहीबार बजेटमाथिको छलफलमा बोल्दै उनले बजेट कार्यान्वयन हुने आधार आफूले नदेखेको बताए।
उनले यो बजेटले युवालाई रोजगारी दिने क्षमता पनि नराख्ने तर्क गरे। उनले भने, ‘युवालाई रोजगारी हामी दिन सकेनौँ भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखियो ? मैले बुझाउने क्षमता राख्दैन तर म व्यवहारिक क्षमता राखेको छु किनभने जनताको घरदैलोमा गइराख्नुपर्छ, गरिबको भान्सामा देख्नुपर्छ । गरिबले के पायो ? कर्मचारीले त पायो २१% पायो । तर, कर्मचारी कति प्रतिशत छ ?’

उनले अहिलेको बजेट फुलेको बेलुन भएको बताए। ‘यो बजेट फुलेको बेलुन हो, हेर्दा ठूलो देखिन्छ। तर, कार्यान्वयन हुँदैन। यो बजेट कार्यान्वयन हुन्छ भन्ने मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। ऋण लिएर बनाएको बजेट कार्यान्वयन हुँदैन। साढे चार खर्ब आन्तरिक ऋण लिने भन्नु भएको छ, जहाँ पूँजिगत खर्च हुँदैन, त्यो देशको विकास हुँदैन।’
यो बजेटबाट कति प्रतिशत जनसङ्ख्या खुसी भयो ? भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘बैंकर्स खुसी भयो भने बैङ्कमा त्यत्रो निक्षेप किन जम्मा भएको छ ? यहाँ आजको दिनमा व्यापार गर्ने वातावरण छैन । म संविधानको कुरा गर्न आएको किनभने म संविधानको हस्ताक्षरकर्ता हुँ । संविधानमा शिक्षा, स्वास्थ्य मौलिक अधिकार हो । त्यो मौलिक अधिकारमा ट्याक्स लगाउन पाउँदैन । त्यो ट्याक्स विद्यालयमाथि लागेको छैन, विद्यार्थीलाई लागेको छ ।’
प्रकाशित मिति : June 11, 2026 at 2:18 pm









