अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्नः गल्ती नगरेको भए छानबिन समिति गठन गर्न किन हिचकिचाहट ?
२७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हरेरफेर गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यलाई अर्बौं नोक्सानी पुर्याएको आरोप लगाएका छन् । शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले सहयोग गर्नुहोस् ।’
उनले नेपालको इतिहासकै ठूलो वित्तीय अनियमितता वा आर्थिक अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा संसद र संसदीय समितिमार्फत पूर्ण सहयोग गर्न तयार रहेकाे बताएका छन् ।

उनले लेखेका छन्, ‘माननीय अर्थमन्त्रीज्यू नेपालको इतिहासकै ठूलो वित्तीय अनियमितता वा आर्थिक अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा हामी संसद र संसदीय समितिमार्फत पूर्ण सहयोग गर्न तयार छौँ ।’
उनले अर्थमन्त्रीलाई कुनै गल्ती नै नगरेको भए छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? भन्दै प्रश्न गरेका छन् । शाही लेख्छन्, ‘यदि तपाईंले कुनै गल्ती गर्नुभएको छैन र सबै प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भएको हो भने संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सत्य तथ्य बाहिर ल्याउने सबैभन्दा उचित माध्यम निष्पक्ष छानबिन नै हो ।’
प्रकाशित मिति : June 10, 2026 at 3:14 pm










