२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

लगानीकर्ताको हितविपरीत नेपाल माइक्रो इन्स्योरेन्सको कराेडाैँ दुरूपयोग

२५ जेठ, काठमाडौँ । हिमालयन रि-इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्ससहितका बिमा कम्पनीको अर्बौंको घोटाला प्रकरणमा सोमबार अदालतमा मुद्दा बुझाउने तयारी गरिएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिमालयन रि–इन्स्योरेन्स र यसका सहायक कम्पनीहरू, हिमालयन लाइफ इन्स्योरेन्स र यसका सहायक कम्पनीहरू, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका सञ्चालक र उच्च व्यवस्थापनका पदाधिकारी साथै दीपक भट्ट र भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रबन्ध निर्देशक सन्दीप चाचानसहितलाई प्रतिवादी बनाएर मुद्दा चलाउने सिफारिस गरेको थियो ।

बिमा कम्पनीको ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ रकम व्यक्तिगत सम्पत्ति सरह प्रयोग गरी, कृत्रिमरूपमा बजार प्रभावित पारी र भित्री कारोबार (इन्साइडर ट्रेडिङ) मार्फत सर्वसाधारण लगानीकर्ताको हितविपरीत कार्य गरेको पुष्टि भएपछि मुद्दा दर्ताको तयारी भएको हो ।

नेपाल माइक्रो इन्स्योरेन्स मार्फत लगानीकर्ताको हितविपरीत करोडाैँ रकम दुरूपयोग गरेको अभियोगमा अध्यक्ष आशिष श्रेष्ठ, डाइरेक्टरहरू सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, सुनिता श्रेष्ठ, अनुप मालाकार, बद्री सिग्देल, प्रविना दाहालसहित प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र सुजल मल्लसमेतलाई १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ बिगो कायम गर्ने तयारी गरिएको छ । उनीहरूले बिमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसुर गरेको र बिमा ऐन, २०७९ को दफा १४१ को उपदफा (३) को खण्ड (घ) बमोजिम सजाय माग गर्न सिफारिस गरिएको छ ।

यसै मुद्दामा सुलभ अग्रवाललाई ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ र दीपक भट्टलाई २ अर्ब ८९ करोड २० लाख रुपैयाँ, शुभी अग्रवाललाई ६२ करोड ९० लाख रुपैयाँ, राजबहादुर शाहलाई ८९ करोड ७१ लाख रुपैयाँ र ऋषिराज मोरलाई २३ करोड १ लाख रुपैयाँ बिगो कायम गरेर मुद्दा दर्ता हुँदैछ ।

जिल्ला सरकारी वकिलको कार्यालयले बिमा कसुरमा ४० जना विरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ । बिमा क्षेत्रमा ठूलो वित्तीय अनियमितता र संगठित आर्थिक अपराध हुने गरको विषय यो अनुसन्धानसँगै बाहिर अाएको छ । संगठित अपराधमा लागेकाहरूले सौर्य सिमेन्ट र जगदम्बा स्टिलको कार्यालयलाई सेल्टर बनाएर हिमालयन रि-इन्स्योरेन्ससहितका संस्थाहरूको सेयर कारोबारका निर्णयहरू गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रचलित धितोपत्र सम्बन्धी ऐन, २०६३ को बर्खिलाप हुने गरी भृकुटी स्टक ब्रोकिङ कम्पनीले हिमालयन रि–इन्स्योरेन्स र अन्य कम्पनीहरूबाट विभिन्न मितिमा ‘अग्रिम रकम’ माग गरी सो रकमलाई बिमकको हितविपरीत प्रयोग गरेको सीआईबीको अनुसन्धान प्रतिवेदनले जनाएको छ । बिमा कम्पनीहरूको टीएमएस खाताबाट भएको कारोबारको राफसाफ नगरी उक्त रकम असम्बन्धित व्यक्ति तथा संस्थाहरूको निजी कारोबार मिलाउन प्रयोग गरेको पाइएको हो ।

भृकुटी स्टक ब्रोकिङ कम्पनीले  हिमालयन रि–इन्स्योरेन्सबाट प्राप्त २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ रकम दीपक भट्ट, राजबहादुर शाह, शुभी अग्रवाल र ऋषिराज मोरको नाममा रहेका व्यक्तिगत ग्राहक आइडीहरूको सेयर खरिद राफसाफका लागि प्रयोग भएको  स्वीकार गरेको छ । नेपाल माइक्रो इन्स्योरेन्ससहितका कम्पनीको कुल ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ बराबरको सेयर दीपक भट्ट, राजबहादुर शाह, शुभी अग्रवाल, ऋषिराज मोरसहितको नाममा खरिद गरी बिमा कम्पनीको फन्ड दुरुपयोग भएको  सीआईबीको ठहर छ ।

प्रकाशित मिति : June 8, 2026 at 11:41 am