स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा विश्व वातावरण दिवसमा ५०० बिरुवा रोपण
२४ जेठ, कीर्तिपुर । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा शनिबार कीर्तिपुरस्थित आदिनाथ सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । वातावरण संरक्षण, हरियाली विस्तार तथा जैविक विविधता संरक्षणलाई लक्षित गर्दै गरिएको उक्त अभियानमा करिब ३५० जना कर्मचारी तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमका क्रममा फलफूल दिने, फूल फुल्ने तथा छायाँ दिने विभिन्न प्रजातिका करिब ५०० बिरुवा रोपिएको बैंकले जनाएको छ । बैंकका अनुसार यस अभियानले स्थानीय क्षेत्रको हरियाली अभिवृद्धि गर्नुका साथै दीर्घकालीन वातावरणीय दिगोपनामा योगदान पुर्याउने लक्ष्य राखिएको छ ।
वृक्षारोपण कार्यक्रमको सुरुवात स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ तथा हेड अफ कभरेज गोरख राणा र आदिनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केदार बस्नेतले संयुक्त रूपमा पहिलो बिरुवा रोपेर गरेका थिए ।
कार्यक्रममा बोल्दै सीईओ राणाले वातावरण संरक्षणका लागि कर्मचारीहरूको स्वयंसेवामा देखिएको सक्रियता प्रशंसनीय रहेको बताए । उनले भने, “यस वर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कर्मचारी स्वयंसेवाको २० वर्ष पूरा भएको छ । यी वर्षहरूमा एससीबीएनएलका कर्मचारीहरूले ललितपुर जिल्लासहित कीर्तिपुर क्षेत्रमा करिब ४० हजार बिरुवा रोप्न योगदान गरेका छन् । आजको प्रयास मात्र होइन, दीर्घकालीन प्रभावका हिसाबले पनि महत्वपूर्ण छ, जुन वर्षेनि बढ्दै गएको छ । प्रत्येक रूख केवल हरियाली होइन, आशा, जिम्मेवारी र भविष्यप्रतिको प्रतिबद्धताको प्रतीक हो ।”
बैंकले हरेक वर्ष आयोजना गर्दै आएको वृक्षारोपण अभियानले वातावरणीय दिगोपनाप्रतिको संस्थागत प्रतिबद्धता झन् सुदृढ बनाएको जनाएको छ । साथै, आगामी पुस्ताका लागि हरित भविष्य निर्माणमा निरन्तर योगदान दिने लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बैंकले स्पष्ट पारेको छ ।
प्रकाशित मिति : June 7, 2026 at 12:21 pm









