भुक्तानी सेवाप्रदायक संस्थालाई राष्ट्र बैंकको कडाई
२० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायक संस्थालाई कडाई गरेको छ । केन्द्रीय बैंकले नयाँ व्यवस्था थप गर्दै भुक्तानी सेवाप्रदायक संस्थालाई कडाई गरेको हो । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै उपयुक्तताको मापन सम्बन्धी मापदण्ड सम्बन्धमा नयाँ व्यवस्था ल्याएको हो ।
संशोधित व्यवस्थाअनुसार कुनै संस्थाको सञ्चालन, व्यवस्थापन वा कामकारबाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व हुने, नियन्त्रण गर्ने, सहभागी हुने वा वास्तविक धनी तथा हिताधिकारीका रूपमा रहने व्यक्तिको वित्तीय गैरकानुनी आर्जन वा प्रत्यक्ष तथा अप्रत्यक्ष आपराधिक संलग्नतासम्बन्धी विवरण राष्ट्र बैंकमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अब कुनै व्यक्तिले संस्थाको चुक्ता पुँजीको ५ प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढीको शेयर वा पुँजी लगानी तथा खरिद गर्दा, सूचक संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पद तथा तहमा नियुक्ति वा मनोनयन हुँदा तथा ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढीको शेयर वा पुँजीमा वास्तविक धनी वा हिताधिकारी रहँदा सम्बन्धित संस्थाले आवश्यक विवरणसहित नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा जानकारी गराउनुपर्नेछ ।
यसका लागि सम्बन्धित व्यवसायसँग सम्बन्धित प्रचलित कानुनबमोजिमका मापदण्ड पालना गरेको स्वघोषणा, सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, पारिवारिक विवरण, वास्तविक धनी तथा हिताधिकारीसम्बन्धी विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।



प्रकाशित मिति : June 3, 2026 at 10:19 am









