१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

मोबाइल नम्बर परिवर्तन हुँदा बैंकलाई समयमै जानकारी दिन राष्ट्र बैंकको आग्रह

१९ जेठ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकले जारी गरेको वित्तीय चेतनामूलक सन्देशमा बैंक तथा वित्तीय संस्था, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा भुक्तानी सेवा प्रदायकका वालेट सेवाहरू ग्राहकको दर्ता गरिएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध हुने भएकाले समयमै अद्यावधिक गर्न आवश्यक रहेको उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार ग्राहकको खातासम्बन्धी महत्वपूर्ण सूचना, सुरक्षा सन्देश तथा वित्तीय कारोबारका विवरणहरू दर्ता गरिएको मोबाइल नम्बर र इमेलमार्फत प्रवाह हुने भएकाले पुरानो नम्बर वा इमेल सक्रिय नरहेमा सुरक्षा जोखिम बढ्न सक्छ।

मोबाइल फोन हराएको, चोरी भएको वा मोबाइल नम्बर परिवर्तन भएको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नदिएमा खातासम्बन्धी संवेदनशील विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्ने जोखिम रहने राष्ट्र बैंकले जनाएको छ। यसरी अनधिकृत पहुँचका कारण ग्राहकको वित्तीय जानकारी दुरुपयोग हुन सक्ने भएकाले मोबाइल नम्बर परिवर्तन भएलगत्तै सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ। साथै, मोबाइलमार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक मोबाइल एप्लिकेसन मात्र प्रयोग गर्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ।

प्रकाशित मिति : June 2, 2026 at 10:42 am