आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य
१८ जेठ, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार सङ्घले बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले पाँच वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब १६ खर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको बताए ।
उनले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन ७४ खर्बका आधारमा सात प्रतिशतको आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गरे । कुल गार्हस्थ्य उत्पादनको तुलनामा ऋण ४३ प्रतिशत बढी धेरै नहुने बताउँदै अर्थमन्त्री वाग्लेले आगामी वर्षको बजेटमा पुराना कार्यक्रमको दायित्व रहेको त्यसलाई सरकारले निरन्तरता दिने जानकारी दिए ।
अर्थमन्त्री वाग्लेले विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)बाट सरकार पछाडि नहट्ने बताउँदै अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिए । मन्त्री वाग्लेले आयमा आधारित करभन्दा उपभोगमा आधारित कर प्रभावकारी हुने तथा उपलब्धि हासिल गर्न सकिने भएकाले त्यसतर्फ कार्यक्रम अगाडि बढाइएको प्रस्ट पारे ।
प्रकाशित मिति : June 1, 2026 at 4:03 pm









