श्रम संस्कृति पार्टीले भन्योः सरकारको राष्ट्रघाती बदनीयत प्रष्ट भयो
१८ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्क राज राई) ले प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको आरोप लगाएका छन् ।
पार्टी अध्यक्ष हर्क साम्पाङले सोमबार विज्ञप्ती जारी गरी प्रधानमन्त्रीको अभव्यक्तिले सरकार सीमा रक्षा र भौगोलिक अखण्डताप्रति प्रतिबद्ध नरहेको प्रष्ट भएको भन्दै आपत्ति जनाएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिमा सीमा मिचिएको कुरा रफादफा गर्ने बदनीयत देखिएको पनि उनले भनेका छन् ।
‘प्रधानमन्त्रीको भनाइले सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक लिम्पियाधुरा फिर्ता गर्नु पर्छ भन्ने हाम्रो मागलाई सामसुम पार्ने, नेपाले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनीयत प्रष्ट भएको छ,’ विज्ञप्तीमा भनिएको छ।
प्रधानमन्त्रीले बोलेको कुराले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थिति के हो भन्नेबारे पनि गम्भीर अस्पष्टता व्यक्त गरेको विज्ञप्तीमा उल्लेख छ।

‘नेपाली सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न र आफ्नै गरिब जनताका बस्ती सुकुम्बासी बस्तीमा हमला गर्नमै सीमित राख्दै आएको नेपाल सरकारले सीमानामा सेनालाई चियाउन समेत नपठाउनु बरू उल्टै नेपाल भारतको सीमा धेरै ठाउँहरूमा मिचेको भन्नुले सीमा रक्षा र भौगोलिक अखण्डता प्रति प्रधानमन्त्री र यो सरकार प्रतिबद्ध नरहेकोप्रति श्रम संस्कृति पार्टी र तमाम नेपाली जनता घोर आपत्ति सहित विरोध व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : June 1, 2026 at 10:14 am









