भर्ने होइन त ? सानिगाड हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने
१८ जेठ, काठमाडौं। सानिगाड हाइड्रो लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख ७० हजार कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ। त्यस्तै, कम्पनीले १ लाख ७१ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँकी रहेको ४६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा जेठ २१ गते हुनेछ भने ढिलोमा असार १ गते हुनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : June 1, 2026 at 9:46 am









