१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सीमा मिचेको प्रमाणसहित प्रधानमन्त्रीले जनतालाई स्पष्ट पार्नुपर्छः कमल थापा

१७ जेठ, काठमाडाैं । राप्रपा नेता कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। आज सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले देश र जनताले ठूलो भरोसा गरेका प्रधानमन्त्रीबाट यस्तो हलुका र आपत्तिजनक मन्तव्य आउनु अत्यन्तै दु:खद भएकाे बताएका हुन्।

‘संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी दिनुभएको अभिव्यक्तिले सिंगो मुलुकलाई तरंगित र आश्चर्यचकित बनाइदिएको छ,’ उनले लेखेका छन्, ‘केही स्थानमा सीमा विवाद हुनु बेग्लै कुरा हो। तर नेपालले भारतको सीमा मिचेको वा अतिक्रमण गरेको छैन। नेपाल छिमेकीको सीमा मिच्नु हुँदैन भन्ने मान्यतामा अडिग छ।’

उनले नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरामा प्रधानमन्त्री विश्वस्त छन् भने प्रमाणसहित जनतालाई स्पष्ट पार्दै भारतलाई भूमि फिर्ता गर्नुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यदि नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरामा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ भने त्यो कुन ठाउँ हो, प्रमाणसहित जनतालाई स्पष्ट पार्नुपर्छः तत्काल गल्ती सच्याउनुपर्छ र ससम्मान भारतलाई भूमि फिर्ता गर्नुपर्छ। तर, मेरो विचारमा प्रधानमन्त्रीको यो भनाइ अतिरञ्जित र गलत छ।’

उनले नेपालले कुनै पनि छिमेकीको सीमा अतिक्रमण नगर्ने र अरूले आफ्नो भूमि अतिक्रमण गरेको पनि सहन नसक्ने बताए। ‘देश सानो-ठूलो हुन सक्छ, तर राष्ट्रको सार्वभौमिकता र अखण्डतामाथि कुनै सम्झौता हुन सक्दैन,’ उनले लेखेका छन्, ‘भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेख र सुस्ता क्षेत्रमा नेपालको अविभाज्य भूमि अतिक्रमण गरेको विषयमा देशव्यापी बहस र चिन्ता भैरहेका बेला, प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी दिनुभएको वक्तव्य पूर्णतः गैरजिम्मेवारपूर्ण छ। म यसलाई तत्काल सच्याउन आग्रह गर्दछु। ’

प्रकाशित मिति : May 31, 2026 at 6:17 pm