८ असार २०८३, सोमबार | Mon Jun 22 2026

पार्टी नछाड्नूस्, एमालेमा पुनर्गठन र पुनर्जागरण हुन्छः विष्णु रिजाल

१६ जेठ, काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले पार्टी नछाड्न र निराश नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीको अपानिमा उल्लेख भएको एउटा बुँदा सामाजिक सञ्जाल मार्फत सेयर गर्दै रिजालले यस्तो आग्रह गरेका हुन ।

रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित अपानि–२ ९१५ जेठ २०८३० को अंश उद्धृत गर्दै एमालेमा पुनर्गठन र पुनर्जागरणको प्रक्रिया अघि बढ्ने भएकाले पार्टी पंक्तिमा आशा र विश्वास कायम राख्न आग्रह गरेका हुन् ।

रिजालले उद्धृत गरेको अध्यक्ष ओलीको सर्कुलरमा निर्वाचनमा व्यहोर्नुपरेको गम्भीर पराजयका कारण पार्टीको एक हिस्सा निराश र पलायन हुन खोजेको उल्लेख छ। यस्तो अवस्थामा सुधार ल्याउँदै पार्टीपंक्तिमा आशाको सञ्चार गर्नु आवश्यक रहेको सर्कुलरमा भनिएको छ।

सर्कुलरमा पार्टी समीक्षा प्रक्रियामा रहेको र केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढाइने उल्लेख गरिएको छ।

एमालेभित्र निर्वाचनपछिको समीक्षा, संगठन पुनर्गठन र नेतृत्वको भूमिकाबारे बहस चलिरहेका बेला रिजालको यो अभिव्यक्ति आएको हो। पछिल्लो समय पार्टीभित्र सुधार र पुनर्गठनको माग उठिरहेका बेला उनले पार्टी नछाड्न आग्रह गर्दै आगामी कार्ययोजनामार्फत संगठनलाई नयाँ ढंगले अघि बढाइने संकेत गरेका छन्।

प्रकाशित मिति : May 30, 2026 at 9:02 am