१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

विदेशी सेयर बजारमा नेपाली कम्पनी सूचीकृत गर्न बाटो खुल्याे, पुँजी बजार सुधारका नयाँ कार्यक्रम घोषणा

१५ जेठ, काठमाडाैँ । नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूले आवश्यक प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा समेत सूचीकृत हुन सक्ने व्यवस्था गरिने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ग्लोबल डिपोजिटरी रिसिप्ट (जीडीआर) जारी गर्न सकिने कानुनी तथा नीतिगत व्यवस्था मिलाइने घोषणा गरेका हुन्।

सरकारले आगामी आर्थिक वर्षका लागि सेयर बजारमैत्री नीति तथा कार्यक्रमसमेत अघि सारेको छ। पुँजी बजारलाई थप मर्यादित, पारदर्शी तथा लगानीमैत्री बनाउन नियामक निकायको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली विकास तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने अर्थमन्त्री वाग्लेले बताए।

त्यसैगरी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गर्दै इन्ट्रा–डे कारोबार, सर्ट सेलिङ तथा डेरिभेटिभजस्ता आधुनिक वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने सरकारको योजना छ।

अर्थमन्त्री वाग्लेले पुँजी बजारमा हुने सेयर कर्नरिङ, इन्साइडर ट्रेडिङलगायत अवाञ्छित गतिविधिप्रति सरकारले शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पारे।

प्रकाशित मिति : May 29, 2026 at 5:24 pm