सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक
१४ जेठ, काठमाडौं। सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक भएको छ। सरकारले सार्वजनिक गरेको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।
प्रतिवेदनअनुसार सहकारी संस्था दर्ता, सेवा विस्तार तथा शाखा स्वीकृतिका क्रममा आवश्यक अध्ययन, जोखिम मूल्यांकन र मापदण्डको प्रभावकारी पालना नगरी अनुमति दिइएको पाइएको छ। आयोगले यस्ता निर्णय प्रक्रियामा भएका कमजोरीका कारण धेरै सहकारी संस्थाहरू समस्याग्रस्त बन्दै गएको जनाएको छ।
प्रतिवेदनमा विगतदेखि नै सहकारी क्षेत्रको नियमन प्रभावकारी हुन नसकेको, जथाभाबी दर्ता तथा कार्यक्षेत्र विस्तार गरिएको र राजनीतिक पहुँचका आधारमा सञ्चालनमा छुट दिइएको उल्लेख छ। साथै सहकारी सञ्चालकहरूको राजनीतिक आबद्धता तथा प्रत्यक्ष–अप्रत्यक्ष हस्तक्षेपले समस्या थप जटिल बनेको आयोगको ठहर छ।
आयोगले सहकारी क्षेत्र सुधारका लागि एकीकृत तथा प्रभावकारी नियामक संरचना निर्माण, प्रविधिमैत्री सूचना प्रणाली विकास, कडा वित्तीय अनुशासन, बचतकर्ता हित संरक्षण तथा संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ।
प्रकाशित मिति : May 28, 2026 at 10:38 am









