के बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर रहन्छ ?
१२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी व्यवस्थालाई स्पष्ट पारेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी व्यवस्थालाई स्पष्ट पारेको हो ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्ने उल्लेख गरेको छ । स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दरमा आएको परिवर्तनअनुसार थपघट हुने बताएको छ ।
परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन् । यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ । एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरेपश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागु गर्न नपाइने व्यवस्था छ ।
परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्तावपत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ । तत्पश्चात् आधारदरमा भएको परिवर्तनका कारण ब्याजदरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागु हुने हो भन्नेबारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्ने समेत राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति : May 26, 2026 at 10:20 am









