९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

एडिलेडमा`अन्तर्राष्ट्रिय सगरमाथा दिवस´ मनाइदै, मे ३० मा पदयात्रा

एडिलेड । `अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२६ ´ (International Everest Day 2026)को सन्दर्भमा एडिलेडमा विविध कार्यक्रमको आयोजना गरेर मनाईने भएको छ ।

नेपाली समुदायिक संस्थाहरुको संगठन फेड्रेसन अफ नेप्लिज कम्युनिटी एशोशियसन अफ अष्ट्रेलिया(फेन्का)को साउथ अष्ट्रेलिया समितिको आयोजनामा मे ३० शनिवार एडिलेडमा पदयात्रा हुने भएको छ ।

तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले २९ मे १९५३ मा पहिलो पटक सगरमाथाको शिखरमा पुगेको ऐतिहासिक दिनलाई सम्झन प्रत्येक वर्ष मे २९ मा अन्तर्राष्ट्रिय सगरमाथा दिवस विश्वव्यापी रूपमा मनाइन्छ। यो दिन अब जलवायु परिवर्तनको बारेमा जागरूकता जगाउन र भावी पुस्ताका लागि सगरमाथा र हिमालय क्षेत्रलाई पवित्र प्राकृतिक वातावरणको रूपमा संरक्षण गर्न मनाइन्छ। यस वर्षको सगरमाथा दिवसका लागि पग्लीरहेको हिउँ, बढ्दो जिम्मेवारी (Melting Ice, Rising Responsibility) मूल नारा तय गरिएको छ । जलवायु परिवर्तनका कारण विश्व तापमानमा भइरहेको वृद्धि र यसले सगरमाथा लगायतका हिमाली क्षेत्रको हिउँ पग्लिएर परिरहेको नकारात्मक असरप्रति विश्वको ध्यानाकर्षण गराउन र पर्यावरणीय चेतना जगाउन यो नारा तय गरिएको फेन्का साउथ अष्ट्रेलिया संयोजक पुष्कर कोईरालाले बताउनु भयो ।

मे ३० मा हुने पद यात्रा मोरियाल्टा कन्भर्सेसन पार्कबाट बिहान ८.३० बजे शुरु हुने कार्यक्रम रहेको छ । कार्यक्रममको समापनमा औपचारिक कार्यक्रम गरेर समापन गरिने फेन्का साउथ अष्ट्रेलिया संयोजक कोईरालाले बताउनु भयो 

उहाले फेन्काले साउथ अष्ट्रेलिया सहित अष्ट्रेलियाका सबै राज्यहरुमा एभरेष्ट डे विविध कार्यक्रम आयोजना गरि मनाउन लागेको समेत बताउनु भयो ।

भर्खरै एडिलेड निवासी नेपाली युवा सरोज अर्याल र मेलबर्नकी बियान्का एड्लरले सगरमाथाको सफल आरोहण गरेको सुखद पृष्ठभूमिमा हुन अष्ट्रेलिया भरि नै हुन लागेको यो कार्यक्रमलाई नेपाली समुदायमा निकै उत्साहका साथ हेरिएको छ ।

प्रकाशित मिति : May 23, 2026 at 7:24 am