एमालेका चार उपाध्यक्षले मागे ओलीको राजीनामा
८ जेठ, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको भविष्यलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र गम्भीर बहस सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनपछिको समीक्षा गर्न शुक्रबार भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको सचिवालय बैठकमा चार उपाध्यक्षले अध्यक्ष ओलीको राजीनामा माग गर्दै नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सारेका हुन् ।
बैठकमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टी कमजोर बन्दै गएको भन्दै त्यसको मुख्य जिम्मेवारी नेतृत्वले लिनुपर्ने धारणा राखेका थिए । उनीहरूले पार्टी पुनर्गठन र संगठन सुदृढीकरणका लागि ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् ।
बैठकका क्रममा अध्यक्ष ओलीले संकटको समयमा नेतृत्वको रक्षा गर्नुपर्नेमा केही नेताहरू पुनर्गठनको नाममा अभियान चलाइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले अनुशासनको कारबाहीसम्मको चेतावनी दिएपछि उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले त्यसको कडा प्रतिवाद गरेका थिए ।

गुरुङले एमाले कसैको निजी कम्पनी नभएको भन्दै पार्टी निर्माणमा सबै नेताहरूको बराबर योगदान रहेको उल्लेख गरे । उनले कसैलाई धम्की दिने शैली स्वीकार्य नहुने भन्दै बैठकमै आपत्ति जनाएका थिए । दुई नेताबीच चर्काचर्की भएपछि केही समय बैठकको वातावरण तनावपूर्ण बनेको एक सचिवालय सदस्यले दैनिकीलाई जानकारी दिए ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यसअघि हटाइएको ७० वर्षे उमेरहद र दुई कार्यकालसम्बन्धी व्यवस्था पुनः लागू गर्नुपर्ने धारणा राखे । अन्य उपाध्यक्षहरूले पनि पार्टीको वर्तमान कार्यशैली, नीति तथा दृष्टिकोणमाथि व्यापक समीक्षा आवश्यक रहेको बताएका थिए ।
उपमहासचिव लेखराज भट्टका अनुसार एमाले इतिहासमै पहिलोपटक सचिवालय बैठकमा नेताहरूले यसरी खुलेर आफ्ना असन्तुष्टि र धारणा प्रस्तुत गरेका हुन् ।
बैठकमा शुक्रबार उपाध्यक्षहरूको धारणा राख्ने क्रम सकिएको छ । अब शनिबार बिहान ११स्३० बजे पुनः ओली निवासमै बस्ने बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिवहरू तथा सचिवहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । शनिबारको बैठकमा कार्यविभाजन प्रस्तावमाथि समेत विस्तृत छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : May 22, 2026 at 8:20 pm









