८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्न सरकारको निर्देशन

८ जेठ, काठमाडाैँ । सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता अस्थायी रूपमा रोक्न निर्देशन दिएको छ । यातायात व्यवस्था विभागले २०८२ जेठ ७ गते जारी गरेको पत्रमार्फत प्रदेश सरकार तथा स्थानीय तहलाई सार्वजनिक सवारी साधनको नयाँ दर्ता नगर्न आग्रह गरेको हो ।

विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण, सवारी चाप र ट्राफिक जाम बढ्दै गएको छ । साथै इन्धनको मूल्यवृद्धिका कारण सार्वजनिक यातायात क्षेत्रमा समस्या थपिएको उल्लेख गरिएको छ ।

विभागले “सवारी तथा यातायात व्यवस्था ऐन, २०४९” को दफा २४ को उपदफा (३) अनुसार सार्वजनिक हितका लागि आवश्यक देखिएमा सवारी दर्ता रोक्न सकिने व्यवस्था रहेको भन्दै तत्कालका लागि नयाँ दर्ता रोक्ने निर्णय गरिएको जनाएको छ ।

पत्रमा अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारी साधन, विद्युतीय सार्वजनिक सवारी साधनसमेत, नयाँ दर्ता नगर्न निर्देशन दिइएको छ । उक्त पत्र कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्बन्धित मन्त्रालय तथा सबै स्थानीय तहलाई पठाइएको छ ।

प्रकाशित मिति : May 22, 2026 at 7:25 am