धितोपत्र बोर्डको अध्यक्षको छोटो सूचीमै अटाएनन् सेयर बजारका चर्चित पात्र शिवचन्द्र
५ जेठ, काठमाडाैँ । धितोपत्र बोर्डको अध्यक्षको छोटो सूचीमा सेयर बजारका चर्चितपात्र शिवचन्द्र नै छुट्नुभएको छ । सिफारिस समितिले चार जनाको नाम छनाैट गर्दा शिवचन्द्र नअटाउनुभएको हो । उहाँको चर्चा सबैभन्दा बढी भएको थियो । रास्वपाका नेता एवं प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन सभापतिमा हरि ढकालको निकट मित्र रहेको रास्वपाको प्रचारक समेत रहेका कारण शिवचन्द्रको सम्भावनाको अनुमानले सञ्जाल रंगिएको थियो ।
स्रोतका अनुसार धितोपत्र बोर्डबाट अनुमतिप्राप्त संस्थामा एक वर्षको बीचमा काम गरेका व्यक्तिलाई सिफारिस नगर्ने बिधि बनाइएका कारण शिवचन्द्र छुट्नुभएको बुझिएको छ । उहाँ केही समयअघिसम्म एसियन क्यापिटलको कर्मचारी हुनुहुन्थ्यो ।

तोकिएको योग्यता पूरा गरेका उम्मेदवारहरू मध्येबाट समितिले अध्यक्षमा नियुक्तिका लागि ४ जनाको नाम सिफारिस गरेको हो । राष्ट्रिय योजना आयोगका सदस्य डा सञ्जय आचार्य नेतृत्वको सिफारिस समितिले बोर्डको अध्यक्षमा डा नवराज अधिकारी, बोर्डकै कार्यकारी निर्देशक विनयदेव आचार्य, मुकुन्दकुमार क्षत्री र डा गोपालप्रसाद भट्टको नाम सिफारिस गरेको हो । अधिकारी बोर्डकै पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ । उहाँले एक महिना अघि मात्र अवकाश पाउनुभएको थियो । त्यस्तै, आचार्य बोर्डका कार्यकारी निर्देशक हुनुहुन्छ भने क्षेत्री र भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ ।
छोटोसूचीका परेका चार जनालाई अर्थ मन्त्रालयले जेठ ८ गते अन्तर्वार्ताका लागि बोलाएको छ । सन्तोषनारायण श्रेष्ठले अध्यक्षबाट राजीनामा दिएपछि अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको थियो ।
बोर्डको अध्यक्षका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्ने न्यूनतम योग्यता तोकिएको थियो । अन्य योग्यतामा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको भ्रष्टाचारजन्य, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागु औषध कारोबार लगायतका फौजदारी कसुर पाएको हुन नहुने रहेको थियो ।
प्रकाशित मिति : 18:01









