२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

बैंकहरुको मुद्दति निक्षेपमा ७ अर्ब रुपैयाँ राख्दै राष्ट्र बैंक

५ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको पेन्सन तथा उपदान कोषमा रहेको सो रकम बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।

यसका लागि जेठ ६ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब ६० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ५ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३५ करोड रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२६ मे २२ देखि २०२७ मे २२ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको, न्युनतम पुँजीकोष कायम भएको, निष्कृय कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको, अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफामा रहेको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी भएको लगायतका सर्त पुरा गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : May 19, 2026 at 10:04 am