कामु प्रधानन्यायाधीशको आदेशबारे रास्वपाले संसदमा उठायो प्रश्न
४ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनी मान्यता र अभ्यास विपरीत रिट निवेदन दर्ता गर्न आदेश दिनुभएको भन्दै आपत्ति व्यक्त गर्नुभएको छ ।
बैठकमा रास्वपाका सांसदहरु समीक्षा बास्कोटा र यज्ञमणि न्यौपानेले भावी प्रधानन्यायाधीश सिफारिस प्रक्रियाअन्तर्गत संवैधानिक परिषद्बाट भएको निर्णयविरुद्ध रिट निवेदन दर्ता गर्न आदेश जारी हुनुलाई राम्रो मान्न नसकिने धारणा व्यक्त गर्नुभयो ।
उहाँहरूले स्वतन्त्र न्यायपालिकाले आफ्नो काम गरोस् भन्नेमा आफूहरु स्पष्ट भए पनि न्याय प्रशासनभन्दा बाहिर गएर हुने कामकारबाहीप्रति असहमति व्यक्त गर्नुभयो ।
सांसद न्यौपानले मल्लको इजलासलाई इंगित गर्दै स्वार्थको द्वन्द्व हुने गरी न्यायिक काम भएको बताउनुभयाे । ‘कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेश मिडियामा छरपष्ट छ,’ न्यौपानले भन्नुभयाे, ‘यो आदेश संयुक्त हो कि, एकल हो कि, बृहत हो कि, पूर्ण हो कि, संविधानको कुन धाराले गाइड गरेको इजलास हो?’
सांसद बाँस्कोटाले संविधान देखाउँदै शक्ति पृथकीकरणको सिद्धान्त न्यायालयले बिर्सेको बताउनुभयाे । ‘सत्ताकब्जा गर्ने नियतले न्यायपालिका त्यो लेभलमा उत्रिएर काम गर्न थाले न्याय सम्पादन गर्न सक्दैन,’ बाँस्कोटाले भन्नुभयाे, ‘प्रधानन्यायाधीशले डेलिगेसन बोलाएर रिट दरपीठविरूद्धका निवेदन दर्ता गर्न आदेश दिनु कतिको न्यायोचित हो? यो छलफल गर्नैपर्छ।’
कामु प्रधानन्यायाधीश प्रधानले कानुन दिवसमा गरेको टिप्पणीमाथि प्रश्न उठाउँदै उहाँले भन्नुभयाे, ‘कानुन दिवसको दिन उहाँले गएर लडाइँ अझै बाँकी छ भन्नुभयो। कोसित बाँकी छ? सरकार र सत्तासँग लडाइ बाँकी भनेको हो? राजनीति गर्ने भए कोट खोलेर आउनुहोला। हामी तयार छौं।’
प्रकाशित मिति : 16:38









