१ खर्ब ३२ अर्बको धितोपत्र सूचीकृत, कुनको हिस्सा कति ?
४ जेठ, काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा नेपाल धितोपत्र बजारमा १ खर्ब बढी नयाँ धितोपत्र सूचीकृत भएका छन्। याे अवधिमा नेप्सेमा साधारण सेयर, बोनस सेयर, हकप्रद, म्युचुअल फन्ड, डिबेन्चर र एफपीओसहित कुल १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबरका धितोपत्र सूचीकृत भएका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा ४५ अर्ब ५४ करोड रुपैयाँ बराबरको साधारण सेयर, ३९ अर्ब ८९ करोड बोनस सेयर, ९ अर्ब ६४ करोड हकप्रद सेयर, २७ अर्ब ५० करोड म्युचुअल फन्ड, ३ अर्ब ४५ करोड डिबेन्चर, ९७ करोड १७ लाख एफपीओ र २ करोड २९ लाख रुपैयाँ बराबरका अन्य धितोपत्र सूचीकृत भएका छन्।
राष्ट्र बैंकका अनुसार सोही अवधिमा सार्वजनिक निष्काशनका लागि अनुमति दिइएका धितोपत्रको कुल मूल्य ४१ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। यसमा म्युचुअल फन्ड, साधारण सेयर, हकप्रद, डिबेन्चर र एफपीओ रहेका छन् ।
अनुमति दिइएका धितोपत्रमध्ये म्युचुअल फन्ड २७ अर्ब २३ करोड रुपैयाँ बराबरको, साधारण सेयर ९ अर्ब १२ करोड, हकप्रद सेयर ४ अर्ब ९४ करोड, डिबेन्चर २० करोड र एफपीओ ५ करोड रुपैयाँ बराबरका रहेका छन्।
चैत मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीको संख्या २९४ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो संख्या २७० थियो। सूचीकृतमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी १३३, जलविद्युत् १०३, उत्पादन तथा प्रशोधन २८, होटल ९, लगानी कम्पनी ७, व्यापारिक संस्था ४ र अन्य समूहका १० कम्पनी रहेका छन्।
बजार संरचनामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा बढी ५०.२ प्रतिशत रहेको छ। त्यसपछि जलविद्युत् १७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन ८.८ प्रतिशत, लगानी कम्पनी ७ प्रतिशत, अन्य समूह ८.५ प्रतिशत, व्यापारिक संस्था ४.४ प्रतिशत र होटल ३.३ प्रतिशत हिस्सा रहेको छ। याे अवधिमा नेप्से परिसूचक पनि बढेको छ। २०८१ चैतमा २६६२.०९ रहेको नेप्से सूचकाङ्क २०८२ चैतमा २८३३.६० पुगेको छ।
यस्तै, बजार पुँजीकरण पनि वृद्धि भई ४८ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो ४४ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ थियो। कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात पनि ७१.३८ प्रतिशतबाट बढेर ७३.२३ प्रतिशत पुगेको छ ।
प्रकाशित मिति : 14:07









