कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक जेठ २१ गतेभित्रै सक्ने
१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक कार्य आगामी जेठ २१ गतेभित्र सक्ने निर्णय गरेको छ।
महामन्त्री प्रदीप पौडेल संयोजक रहेको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन समितिले जेठ २१ गतेभित्र अनिवार्य रूपमा क्रियाशील सदस्यता अद्यावधिक कार्य सक्ने लक्ष्य लिएको हो।
समितिको बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिक सम्बन्धी कार्य जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नु पर्ने निर्णय गरेको महामन्त्री पौडेलले जानकारी दिनुभयाे ।
बैठकले सदस्यता अभिलेखीकरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नेपाली कांग्रेसलाई सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्यसहित विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याइएको जनाएको छ ।
अब प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत फारम भरेर सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको समितिले जनाएको छ । अनलाइनमार्फत अद्यावधिक गर्दा कुनै समस्या भएमा ९७०१२५५५५५ मा सम्पर्क गरेर एआई साथीसँग सहयोग लिन सकिने व्यवस्था गरिएको छ।
केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रको नम्वर ९७१२०५६३५१ र ९७१२०५६३५२ मा सम्पर्क गरेर पनि समस्याको समाधान गर्न सकिने व्यवस्था गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
साथै ९७०१२५५५५५ मा सम्पर्क गर्दा सोधिने प्रश्नावलीको उत्तर दिएर पनि फोनबाटै अद्यावधिकको फारम भर्ने व्यवस्था पनि मिलाइएको उहाँले बताउनुभयाे ।
प्रकाशित मिति : 11:18









