४ कारण देखाउँदै हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
१ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गर्नुभएकाे छ । संसदमा नीति तथा कार्यक्रम पेस गर्न र उठेका प्रश्नसमेको जवाफ दिन नआएको भन्दै उहाँले प्रधानमन्त्रीले राजीनामा दिए लोकतन्त्र र नागरिक सम्मानित हुने जनाउनुभयाे ।
शुक्रबार प्रेस विज्ञप्तिमार्फत् सांसद साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग्नुभएकाे हाे । ‘आजका मितिसम्म संसदमा कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगर्नुले प्रधानमन्त्री वालेन्द्र शाहले संसदलाई अपमान गरेको, संसदमार्फत् सारा नेपाली जनताको लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको प्रमाणित हुन्छ। संसदमा मर्यादा र थिति बसाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिन्छ! यो घटनाले संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको छ,’ उहाँले भन्नुभएकाे छ ।
१. राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री शाह हलबाट बाहिरिएको र पुनः सभामा नफर्किएको ।
२. प्रतिपक्षीले संसदमा उपस्थित हुन माग गर्दा संसद्मा नआई नजिकैको कार्यालयबाट ‘लाइभ’ हेरेर बसेको
३. नीति तथा कार्यक्रममा छलफल हुँदा अनुपस्थित रहनु र नीति तथा कार्यक्रम बारे उठेका प्रश्नहरुको उत्तर दिन प्रधानमन्त्री स्वयम् उपस्थित रहनु पर्ने संसदीय परम्पराको बेवास्ता गरेर बिना कुनै कारण अनुपस्थित भएको ।
४. प्रधानमन्त्री नियुक्त भएदेखि आजका मितिसम्म संसद्को कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगरेको ।
विज्ञप्तिमा साम्पाङले प्रधानमन्त्रीलाई ‘असक्षम र असफल’को संज्ञा दिँदै प्रश्न गर्नुभएकाे छ, ‘आफ्नो धरातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने, लुकेर बस्ने प्रवृत्तिले कस्तो नजिर बसाउँछ?’ उहाँले न्यूनतम कर्तव्य समेत पूरा नगरेकाले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएकाे छ ।
‘कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्यूनतम कर्तव्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : 09:50









