३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

सीईओ पाण्डेको पक्राउप्रति बैंकिङ क्षेत्रका संगठनहरूको विरोधः बाहिरै राखेर अनुसन्धान गर्न माग

३१ वैशाख, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति चारवटा प्रमुख बैंकिङ छाता संगठनहरूले आपत्ति जनाएका छन् ।

नेपाल बैंकर्स संघ (एनबीए), डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपाल (डिब्यान), नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेको पक्राउले समग्र बैंकिङ क्षेत्र र यसको स्थायित्वमा गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।

 बैंकिङ क्षेत्रका छाता संगठनहरूले जारी गरेको विज्ञप्ति अनुसार संयुक्त विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाले कानुन र नेपाल राष्ट्र बैंकको नीति–निर्देशनअनुसार काम गर्दै आएको उल्लेख गरेका छन्।

बैंकिङ क्षेत्रका छाता संगठनहरूले जारी गरेको विज्ञप्ति अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा (५७) ले बैंकहरूलाई कर्जा असुलीका लागि विशेष अधिकार दिएको छ र सोही कानुनी प्रक्रिया कार्यान्वयन गर्नु प्रमुख कार्यकारी अधिकृतको मूल दायित्व भित्र पर्दछ । तर, नियमित र कानुनी कर्जा असुलीकै प्रक्रियालाई आधार बनाएर बैंकको नेतृत्वलाई पक्राउ गरिनुले समग्र वित्तीय क्षेत्रको स्थायित्व र जनविश्वासमा गम्भीर धक्का लाग्ने चेतावनी दिइएको छ । आम सर्वसाधारणको निक्षेप परिचालन गरी मुलुकको आर्थिक वृद्धि र रोजगारी सिर्जनामा मेरुदण्डका रूपमा रहेका संस्थाहरूको साखमा यस्ता कदमले गिरावट ल्याउने उनीहरूको ठहर छ ।

बैंकर्स संघहरूले ‘पहिले सुन अनि थुन’ भन्ने सर्वमान्य सिद्धान्तलाई भुलेर सिधै हिरासतमा लिने कार्यले सीईओ जस्तो गरिमामय पदको मानमर्दन भएको उल्लेख गरेका छन् । अनुसन्धान गर्नुपर्ने भएमा पाण्डेलाई यथाशिघ्र थुनाबाहिरै राखेर प्रक्रिया अघि बढाउन उनीहरूले सम्बन्धित निकायसँग जोडदार अपिल गरेका छन् ।

प्रकाशित मिति : 14:13