३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

योगेश भट्टराईको प्रश्नः प्रधानमन्त्री पदीय दायित्वबाट किन भाग्न खोज्दै हुनुहुन्छ ?

३१ वैशाख, काठमाडौँ । नेनेकपा एमाले नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाह संसदीय दायित्वबाट भाग्न खोजिरहेको बताउनुभएकाे छ । उहाँले संसदीय लोकतन्त्रको अभ्यास गरिरहेका मुलुकहरूमा संसद्को गरिमा र महत्त्व उच्च हुने भन्दै संसद्ले नै प्रधानमन्त्री चुन्ने व्यवस्था भएकाले संसद् र जनताप्रति प्रधानमन्त्री समान रूपमा उत्तरदायी हुने बताउनुभएकाे छ ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टराईले प्रधानमन्त्रीय पद्धतिमा राष्ट्रपतिद्वारा वाचन गरिएको नीति तथा कार्यक्रम रूपमा सरकारको तर सारमा प्रधानमन्त्रीको अवधारणा मानिने पनि बताउनुभएकाे छ ।

‘हामीले प्रधानमन्त्रीय पद्धति अभ्यास गरेका छौं। यसको मतलब राष्ट्रपतिद्वारा वाचन गरिएको नीति तथा कार्यक्रम रूपमा सरकारको, तर सारमा प्रधानमन्त्रीको अवधारणा मानिन्छ। त्यससम्बन्धी उठेका प्रश्नमा स्वयं अवधारणाकारका अलावा अरू कसले चित्तबुझ्दो जबाफ दिनसक्ला र?’ उहाँले भन्नुभएकाे छ ।

 भट्टराईले भन्नुभएकाे छ, ‘प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनु भनेको संसद्मा भाग लिने, छलफलमा उठेका सवाललाई स्पष्ट पार्ने, संसद्को निर्णय र निर्देशन पालना गर्ने गराउने कुरा हो र यसलाई प्रधानमन्त्रीले आफ्नो कर्तव्य र दायित्वका रूपमा बुझ्नु पर्दछ ।’ ‘तर हाम्रा प्रधानमन्त्री यो संवैधानिक तथा पदीय दायित्वबाट किन भाग्न खोजिरहनु भएको छ?’ उहाँले भन्नुभएकाे छ ।

 संसदीय अभ्यास गरेका मुलुकमा प्रधानमन्त्रीले विशेष सम्बोधन, घोषणा, कुनै घटनाप्रतिको दृष्टिकोण, औपचारिक विदेश भ्रमणका बारेमा संसद् मार्फत नै संदेशदिने प्रचलन छ र संसद्को रोस्टममा ऊभिएर बोल्दा प्रधानमन्त्रीले आफूलाई गर्वको महसुस गर्ने गरेको पनि भट्टराईको भनाइ छ । ‘तर हाम्रा युवा प्रधानमन्त्रीलाई यी विषयले किन आकर्षण गरिरहेको छैन ? प्रक्रिया मिचेर वा छलेर हिँड्ने कुरा लोकतान्त्रिक अभ्यासले स्वीकार छ र ?’, भट्टराईले प्रश्न गर्नुभएकाे छ।

प्रकाशित मिति : 11:55