३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

विद्युत बिक्री आम्दानीसँगै माउन्टेन इनर्जीको नाफा पनि बढ्यो, ईपीएस १६.८९ रुपैयाँ

३० वैशाख, काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार चैत्र मसान्तसम्ममा कम्पनीको विद्युत बिक्रीको आम्दानी १७.०१ प्रतिशतले बढेर १ अर्ब ७ करोड ९७ लाख पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९२ करोड २७ लाख थियो । कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ।

विद्युत बिक्रीको आम्दानी बढेसंगै यस अवधिमा कम्पनीको खुद नाफा पनि बढेको छ। कम्पनीको खुद नाफा १३.४५ प्रतिशतले बढेर ५२ करोड ७६ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४६ करोड ५० लाख रुपैयाँ थियो।

यस अवधिमा कम्पनीले बीमा दाबीको ९ लाख रुपैयाँ पनि प्राप्त गरेको छ। कम्पनीको संचालन मुनाफा ३.८६ प्रतिशतले बढेर ६८ करोड ६३ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको ब्याज आम्दानी २ करोड ९० लाख रहेको छ । कम्पनीको ब्याज खर्च १८ करोड १७ लाखबाट घटेर १६ करोड १५ लाख कायम भएको छ । कम्पनीको कर अगाडीको नाफा भने ५४ करोड २८ लाख रहेको छ। विद्युत बिक्रीको आम्दानी बढेको तथा ब्याज खर्च घटेकोले कम्पनीको नाफा बढेको देखिन्छ ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा १ अर्ब ३१ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड थियो। कम्पनीले आर्थिक वर्ष २०८१/८२ बाट २० प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १६.८९ रुपैयाँ रहेको छ। २० प्रतिशतले पुँजी बढ्दा पनि कम्पनीले १६.८९ रुपैयाँको ईपीएस कायम गर्न सफल भएको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १४२ रुपैयाँ २४ पैसा रहेको छ।

माउन्टेन इनर्जीको सहायक कम्पनीको रुपमा दुधखोला हाइड्रो पावर कम्पनी रहेको छ । यससंगै माउन्टेन इनर्जी होल्डिंङ कम्पनीको रुपमा परिणत भएकोले कम्पनीले पहिलो पटक समग्र ग्रुप कम्पनी र माउन्टेन इनर्जीको छुट्टै वित्तीय विवरण सार्वजनिक गरेको छ । दुधखोला हाइड्रो पावर कम्पनीले मनाङमा ६५ मेगावाट क्षमताको दुधखोला जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ ।

प्रकाशित मिति : 10:37