जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन सांसदहरूको आग्रह
२९ वैशाख, काठमाडौं । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरूले जनताको अधिकारलाई संरक्षण गर्ने दायित्व सरकारको भएको पनि स्मरण गराउनुभयो ।
सांसद विश्वराज पोखरेलले ओखलढुङ्गा जिल्लामा प्रसारण लाइनबाट करेन्ट लागी घाइते भए पनि उपचार नपाएकाले उपचारको व्यवस्थाका साथै प्रसारण लाइन दुर्घटना नहुने गरी व्यवस्थापन गर्न माग गर्नुभयो ।
सांसद बुद्धरत्न महर्जनले चापागाउँ क्षेत्रको सडक जीर्ण भएकाले छिटो निर्माण गर्न माग गर्नुभयो । सांसद बुद्धिप्रसाद पन्तले वीरगञ्ज जीवनकै कठिन अवस्थाबाट गुज्रिएको, वीरगञ्जको सडक भत्किएको, हेटौँडामा २५ गज, वीरगञ्जमा २५ मिटरको सडक मापदण्ड बनाउँदा एउटै राजमार्गमा दोहोरो हुनेगरी नीतिगत र कानुनी व्यवस्था गर्न नहुने बताउनुभयो ।
सांसद भरतबहादुर स्वाँरले अछामको विकासमा कञ्जुस्याइँ गरिएको जिल्ला अस्पताललाई १०० शय्याको बनाइनुपर्ने माग गर्नुभयो । सांसद भरतप्रसाद पराजुलीले सिन्धुपाल्चोकको गुठी समस्या समाधान गरी किसानलाई जग्गा दिन माग गर्नुभयो । जिल्लामा बाँदर तथा बँदेलका कारण कृषक बाली उठाउन नपाउने भएकाले नियन्त्रणको कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।
सांसद भूमिका लिम्बू सुब्बाले पाँचथरका पुल निर्माण सम्पन्न नभएकाले वर्षायाम अगावै वैकल्पिक व्यवस्था गर्न माग गर्नुभयो । सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका हकअधिकारलाई उच्च प्राथमिकता दिएको आगामी बजेट निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।
सांसद मञ्जु भुसालले बुटवलबाट प्रादेशिक राजधानी सारिएपछि बजार सुनसान भएको, बुटवल क्षेत्रका जनताको सुरक्षित बसोबास निश्चित गरी बस्ती व्यवस्थित बनाउने काम अघि बढाउन माग गर्नुभयो ।
सांसद मनदकृष्ण श्रेष्ठले नीति तथा कार्यक्रमको बुँदा नं ५८ मा गरिएको अपाङ्गका लागि गरिएको व्यवस्था उपयुक्त नभएकाले विशेष व्यवस्था गर्न माग गर्नुभयो । सांसद मनमाया विकले सुकुमवासी समस्याका विषयमा कानुन, न्याय तथा मानव अधिकार समितिबाट अनुगमनमा जाँदा विद्यार्थीले पढ्न नपाएको, डोजरले घर भत्काएको दृश्यले मानसिक समस्यामा रहेकाले समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसद मनिष खनालले ३५ वर्षदेखि लालपुर्जाको राजनीति अब बन्द हुनुपर्ने बताउँदै वास्तविक सुकुमवासी समस्या समाधान गर्न प्राधिकरण गठन गरिनुपर्ने माग गर्नुभयो । सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गर्नुभयो । जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उहाँको भनाइ थियो ।
सांसद मोहनलाल आचार्यले प्राचीन तिलौराकोट रहेको कपिलवस्तुको पर्यटकीय विकास गर्नेगरी बजेट ल्याउन माग गर्नुभयो । सांसद महम्मद फिरदोस आलमले रौतहटको सीमावर्ती क्षेत्रमा चारपाङ्ग्रे सवारी निषेध गर्दा समस्या भएकाले समाधान माग गर्नुभयो । जिल्लामा उखु किसानका उखु थन्किएकाले गरुडाको श्रीराम सुगर मिल तत्काल सञ्चालनमा ल्याउन माग गर्नुभयो ।
सांसद वसुमाया तामाङले रैथाने र मौलिक परिकारलाई विश्वमा चिनाउन माग गर्नुभयो । ६० प्रतिशत जनता कृषिमा निर्भर भएकाले रैथाने र मौलिक कृषि उपज विदेशमा निर्यात गर्न र विश्व व्यापार सङ्गठनमा गरेको प्रतिबद्धता पूरा गर्न माग गर्नुभयो ।
सांसद भरत गिरीले राजनीतिक दलभन्दा माथि उठेर काम गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । सांसद यज्ञबहादुर बोगटीले घरबारविहीन भएकाको घरबारको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद युवराज दुलालले मेलम्ची, इन्द्रावती बाढी पीडितको समस्या समाधानमा काम गर्न अनुरोध गर्नुभयो । मेलम्ची खानेपानी आयोजनाको सामाजिक उत्थान कार्यक्रम सञ्चालनमा ल्याउन र वनदेउ चौतारा सडक जीर्ण भएकाले निर्माण गर्न माग गर्नुभयो ।
सांसद रचना खतिवडा खत्रीले सहिद परिवार र घाइतेको घाउमा मल्हम लगाउन माग गर्नुभयो । सांसद रजनी श्रेष्ठले खेलाडी विदेशिन बाध्य भएको उल्लेख गर्नुहुँदै विद्यालयमा खेल अनिवार्य गरिनुपर्ने र खेल क्षेत्रमा राजनीति नगर्न माग गर्नुभयो । सांसद रत्नकुमारी थापाले अछामका बाढी पहिरो पीडितको समस्या समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।
सांसद रञ्जु न्यौपानेले ज्येष्ठ नागरिकमैत्री सार्वजनिक संरचना निर्माण गर्न माग गर्नुभयो । सांसद रमेशकुमार मल्लले सल्यानमा असिना पानीले कृषि उपज क्षति गर्नाका साथै संरचनामा क्षति पुगेकाले तथ्याङ्क सङ्कलन गरेर क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो ।
सांसद रमेशकुमार सापकोटाले कर्णालीमा विद्युत् नहुँदा बनाउन ढिलाइ भएको बताउनुभयो । अन्यत्र यस्तो समस्या हुँदा पाँच, सात दिनमै बन्ने तर कर्णालीमा ढिलाइ भएको उहाँले जानकारी गराउनुभयो । सांसद रमेश प्रसाइँले जेनजी आन्दोलनका दोषीलाई कानुनी कारबाहीको माग गर्नुभयो ।
सांसद रहबर अन्सारीले बारा पर्सा कोरिडोर नेपालको ठूलो करिडोर भएको यहाँ खोला, नाला हडी उद्योग बनेकाले उच्चस्तरीय छानबिन गरी हड्पिएको जग्गा सरकारी स्वामित्वमा ल्याउन माग गर्नुभयो । सिमराको क्यासिनोमा नेपालीलाई प्रवेश गराइएकाले त्यसमा प्रतिबन्ध लगाउनुपर्नेमा उहाँको जोड थियो ।
सांसद राजकिशोर महतोले किसानको बाली नीलगाईका कारण क्षति पुगेकाले यो समस्या समाधान गर्न माग गर्नुभयो । सांसद राजन गौतमले नवलपुरमा नारायणी कटानले भूमि गुमाउने जनताले जग्गा कहिले पाउने निश्चित गर्न माग गर्नुभयो । तटबन्धलाई आगामी वर्षको बजेटमै व्यवस्था गरिनुपर्ने उहाँको भनाइ थियो ।
सांसद राजीव खत्रीले काठमाडौँ र भक्तपुरमा बन्ने भनिएको स्मार्ट सिटीको काम दशकौँ भइसक्दा पनि ढिलाइ भएको भन्दै छिटो निर्माण गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सांसद कलावती शर्माले सुकुमवासी समस्या समाधानका लागि सरकारले गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति : 15:37









