प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेर संसदलाई जानकारी गराउन कांग्रेसको माग
२९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य परीक्षण गरेर संसद्लाई जानकारी गराउन माग गरेको छ । पार्टीको तर्फबाट मंगलबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस्तो माग गर्नुभएकाे हाे ।
सोमबार प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत गरिहँदा उठेर हिंड्ने घटनाले सिंगो देश र संसद्को इज्जतमाथि दाग लागेको टिप्पणी गर्नुभयाे ।
‘प्रधानमन्त्रीले अहंकार र अमर्यादाहीन व्यवहार देखाउनु दुर्भाग्यपूर्ण हो । उहाँको व्यवहारले जनताको मन कुँडिएको छ । देशको शीर झुकेको छ । यो सदनको गरिमा र इज्जतमा दाग अनुभूति हामीलाई भएको छ,’ आङ्देम्बेले भन्नुभयाे ।
उहाँले भन्नुभयाे, ‘सामाजिक सञ्जालमा लाखौँले लेखेजस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनुभयो भनेर म सोझै भन्न चाहन्न यस्तो पनि हुन सक्छ, कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकोले उहाँ हिँड्नु भएको होला। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकुल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस् !’
प्रकाशित मिति : 14:46









