२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयका प्रशिक्षार्थीलाई सोल्टी होटलमा इन्टर्नसिपकाे अवसर

२८ वैशाख, नुवाकोट । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत सञ्चालित पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयले होटल व्यवस्थापन संकायमा अध्ययनरत प्रशिक्षार्थीहरूका लागि पाँचतारे होटलसँग इन्टर्नसिपको व्यवस्था गरेको छ।

नुवाकोट र रसुवाको एकमात्र आंगिक शिक्षालयले डिप्लोमा इन होटल व्यवस्थापन अन्तर्गत तेस्रो वर्ष दोस्रो खण्डमा अध्ययनरत प्रशिक्षार्थीहरूले ६ महिनाको अनिवार्य इन्टर्नसिपका लागि काठमाडौँस्थित सोल्टी होटलसँग द्विपक्षीय लिखित सम्झौता गरेको जनाएको छ।

सम्झौतामा शिक्षालयका तर्फबाट शिक्षालय प्रमुख कपिल पाण्डेले हस्ताक्षर गर्नुभएको छ भने होटलका तर्फबाट मानव संसाधन निर्देशक खेम बहादुर पौडेल, सिकाइ तथा विकास निर्देशक रुपेश श्रेष्ठ र महाप्रबन्धक अभिनास देशमुखले हस्ताक्षर गर्नुभएको छ।

dainiki.com

सम्झौताअनुसार अब प्रत्येक वर्ष प्रशिक्षार्थीहरूले सोल्टी होटलमा काम गर्दै सिक्ने अवसर पाउनेछन्।

यसका साथै शिक्षालयले र्याडिसन, यलफ्ट र मेरियट लगायतका पाँचतारे होटलहरूसँग समेत समन्वय गरी प्रशिक्षार्थीहरूलाई इन्टर्नसिपको व्यवस्था मिलाएको जनाएको छ।

होटल व्यवस्थापन विभागका विभागीय प्रमुख प्रकाश रैलाका अनुसार पाँचतारे होटलमा हुने तालिमले प्रशिक्षार्थीहरूको सीप र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनेछ।

उहाँले नुवाकोटमा आतिथ्य क्षेत्र विस्तारको क्रममा रहेको उल्लेख गर्दै आवश्यक सहयोग प्राप्त भए शिक्षालय यस क्षेत्रमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो।

प्रकाशित मिति : 18:50